
करदातालाई करसम्बन्धी जानकारी दिने, कर तिर्ने प्रक्रियाबारे सचेत गराउने तथा कर प्रशासनलाई व्यवस्थित बनाउने उद्देश्यले मुगुको सदरमुकाम गमगढीमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय जुम्लाको आयोजनामा बिहीबार बिहान आयोजित कार्यक्रममा करको महत्त्व, करदाताको दायित्व, कर दर्ता प्रक्रिया, कर विवरण बुझाउने तरिका, समयमै कर भुक्तानी गर्दाका फाइदा तथा कर नतिरेमा लाग्न सक्ने जरिबानालगायत विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत भूपी पौडेलले सहभागीलाई व्यवसाय दर्ता तथा नवीकरण, स्थायी लेखा नम्बर ९प्यान० लिने प्रक्रिया, मूल्य अभिवृद्धि कर ९भ्याट० र आयकरसम्बन्धी व्यवस्थाबारे जानकारी दिनुभएको थियो ।
करसम्बन्धी पर्याप्त जानकारी नहुँदा कतिपय व्यवसायीले कर विवरण बुझाउन तथा समयमै कर भुक्तानी गर्न समस्या भोग्नुपरेको भन्दै यस्ता समस्या न्यूनीकरण गर्न करदाता शिक्षा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
कर प्रशासनलाई पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री बनाउन करदाता र सम्बन्धित निकायबीच नियमित समन्वय आवश्यक रहेको छायानाथ रारा नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीप्रसाद भामले बताउनुभयो ।
उहाँले जिल्लाका करदातालाई सहज सेवा उपलब्ध गराउन करसम्बन्धी सेवा जिल्लाकै स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको छ ।
कर तिर्नु नागरिकको दायित्व मात्र नभई देशको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक स्रोत जुटाउने महत्त्वपूर्ण माध्यमसमेत भएकाले सबै करदातालाई कर प्रणालीबारे सचेत हुन आग्रह गरिएको छ ।


















