
सङ्खुवासभा र भोजपुरको बिचमा अरुण नदी बगेको छ । वारि सङ्खुवासभा र पारि भोजपुर जिल्ला पर्दछ ।
खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुणनदी किनारमा पूर्वकै प्रसिद्ध धार्मिकस्थल मनकामनाधाममा हरिबोधनी एकादशीको अवसरमा बृहत रुपमा मनकामना मेला लाग्ने गर्दछ । अरुणनदी किनारमा वि.सं. १९८२ सालबाट सुरु भई निरन्तर परम्परागत रूपमा मनाउँदै आएको मनकामना मेला बर्सेनि भव्य र तामझामका साथ मनाउँदै आइरहेको छ ।
विगतका वर्षहरु झैँ यो पनि मनकामना मेला हजारौं दर्शक, स्रोता र भक्तजनहरुको सहभागितामा मेला लागेको थियो । बर्सेनि मनकामना मेला मनाउन मनकामना बजार व्यवस्थापन समिति, मनकामना सन्यास आश्रम र तुम्लिङटार स्र्पोटिङ क्लबले संयुक्त रुपमा मेलाको व्यवस्थापन गर्दै आएको छ ।
पूर्वको धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्यको रुपमा मनकामनाधामलाई विकास गर्न लागि रहेको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताउनुभयो । उहाँले खाँदबारी नगरपालिकाले मनकामनाधामको डिपिआर बनाएर नै निरन्तर रुपमा काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मनकामनाधामको लागि अहिले १५ करोड ३२ लाख रुपियाँ बजेट बिनियोजन भएको छ । निरन्तर काम भइरहेको छ । यो ठाउँलाई आकर्षक धार्मिक तथा पर्यटकीय केन्द्र बनाउन लागिरहेको छु ।’
मनकामनाधाममा अरुण नदी तटबन्ध, भक्तजन बस्ने आश्रयस्थल, वृद्धाश्रम सञ्चालन र वृद्ववृद्वा बस्ने घर निर्माणमा राज्यको लगानी रहेको आश्रम समितिका अध्यक्ष भीम कार्कीले बताउनुभयो ।
आज शुक्रबार हरिबोधनी ठुलो एकादशी पर्ने भएकाले त्यसको अघिल्लो बिहीबार रातभर जाग्राम बसेर मनकामनाधाममा मेला लाग्ने गर्दछ । मनकामना मेला व्यवस्थापन समितिको अगुवाईमा बजार लाग्ने क्षेत्र, मन्दिर र नदी किनार लगायतको क्षेत्रको सरसफाई, भक्तजनहरुको लागि बस्ने व्यवस्थापन, रातभर अध्ययरो नहोस् भनेर विजुली बत्तीको व्यवस्थापन, गंगा आरती र भजन कीर्तनको लागि ठाउँ छुट्टै, मन्दिरमा दर्शन गर्न जानेहरुको लागि व्यवस्थित लाइन र स्वंयमसेवकहरु खटाउने गरिएको आयोजक समितिले जनाएको छ ।
स ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताउँदै तुम्लिङटार स्र्पोटिङ क्लबका अध्यक्ष देवेन्द्र घिमिरेले भन्नुभयो, ‘यो मेलाले स्थानीय पर्यटन प्रवद्र्धन, सामाजिक एकता सुदृढीकरण र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्य रहेको छ ।’
आयोजकले मेला अवधिभर सुरक्षाका लागि प्रहरी सहयोग, यातायात र आवास व्यवस्थाको विशेष व्यवस्था मिलाइएको छ । सञ्चारकर्मी, आगन्तुक भक्तजन र धार्मिक प्रतिनिधिहरूलाई सहज सहभागिताको वातावरण सिर्जना गरिएको थियो । मेलाबाट संकलित सहयोग तथा आम्दानी रकम सामुदायिक हितका योजनामा खर्च गरिने क्लबले जनाएको छ ।
उक्त एकादशी बजार तथा मनकामना मेला भर्न पूर्वी पहाडी जिल्ला सङ्खुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम लगायतका कोशी प्रदेशका जिल्लाका भक्तजनहरुको सहभागिता रहने गर्दछ । त्यसका साथै भारतका विभिन्न क्षेत्रका तीर्थालु भक्तजनहरुसमेत मनकामना मन्दिरको दर्शनका लागि आउने गरेको पाइन्छ ।
मनकामनामा मेला भर्न, पूजा पाठ गर्न र युवा जोस देखाउँदै बजारमा रमाइलो गर्न वृद्धवृद्धादेखि युवायुवतीहरूको घुइँचो लाग्ने गर्दछ । मनकामना भगवतीको मन्दिरमा पूजा गरेर बल माग्दा मनोकामना पूरा हुने, आफूले चिताएको पुग्ने र दीर्घायु हुने भन्ने किंवदन्ती र मान्यता रहेको छ ।
वैदेशिक रोजगारका लागि र लाहुर जाने भनेर घर छोडेर जाने सयौं युवाहरूले मनोकामना र यात्रा पूरा होस् भनेर मनकामना मन्दिर र अरुण नदीमा भाकल गर्ने गर्छन् । मेलामा रातभर जाग्राम बस्ने, रातभर भजन किर्तन गर्ने र मृतक आफन्तको नाममा रातभर बत्ती बाल्ने र विहान अरुण नदीमा बगाउने गर्दछन् । यसो गर्दा पुण्य मिल्ने स्थानीयहरुको भनाइ छ ।
वृद्धावृद्धा, बालबालिका र युवायुवती बजार हेर्न र एकादशीका तालमा मादल बजाउँदै नाचगानमा व्यस्त हन्छन् । एकादशीका अघिल्लो दिन बिहानैबाट मनकामना दर्शन गर्न आउने र मेला भर्नेहरू प्रत्येक वर्ष यहाँ आउने गर्छन् । तिहारका बेला भाइटीका लगाउन नपाएका चेली र माइतीले समेत मनकामना मन्दिर परिसरमा रातभर जाग्राम बसेर आफ्नो दाजुभाइलाई तिहारको फूलका माला लगाइदिने चलन पनि छ ।
यसरी नै चेलीको हातबाट टीका थाप्न नपाएका माइतीले समेत बजारमा आएका युवतीहरूसँग बहिनीको नाता गाँसेर फूलमाला र टीका थाप्ने गर्छन् । दुवै पक्षले दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै विहान अरुण नदीमा स्नान गरेर घर फर्कने चलन छ ।
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र मनकामनाधाममा मेलाको भोलीपल्ट विहान अरुण नदिमा स्नान गर्नेहरुको घुइँचो हुने गर्दछ । उनीहरुले चोखो भई स्नान गर्दा पाप नष्ट हुने र सुख प्राप्त हुने बताइन्छ ।
स्वर्गीय खेमराज गुरुङले विश्वलाई चिनाएको मनकामनाधाम
हरिबोधनी एकादशी बजार तथ मनकामना मेलाको अवसरमा वर्षौअघि मनकामना मेला लाग्ने गरेपनि मनकामनाधामलाई विश्वभर चिनाउने काम स्वर्गीय खेमराज गुरुङले गर्नुभएको हो । वि.सं. २०५७ सालमा ‘वारि जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना...’ बोलको गीत स्वर्गीय गायक खेमराज गुरुङले गाएपछि पूर्वकै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामनाधामको बारेमा विश्वभर चिनिएको हो ।
उक्त गीत मनकामना मेलामा स्थानीय बुढापाकाहरुले मादल बजाउर्दै गाउने स्थानीय लोकभाका हुन् । ‘एकादशी बजारैमा, फन्के रोटी थालैमा...’ यो गीत पूर्वी पहाडका बुथापाकाहरुको लोकलयमा गाउने गीत हुन् । तर, यिनै लोकलयलाई टपक्क टिपेर खेम गुरुङले गीत बनाएर रेकर्ड गराएपछि एकताका लोकगीत संगीतमा बाढी नै ल्याएको थियो । अहिले पनि मनकामनामा मेलामा बर्सेनि ‘अमरस्रष्टा स्व.खेमराज गुरुङको स्मृत्तिमा साँगितिक साँझ’ गरिदैँ आएको छ ।
मनकामनामा स्वर्गीय खेमराजको अर्धकद सालिक बन्ने
मनकामनाधामलाई विश्वभर चिनाएका चर्चित गायक स्वर्गीय खेमराज गुरुङको अर्धकदको शालिक र खेमराज पार्क बन्ने भएको छ । बिहीबार राति मनकामना मेलाको अवसरमा आयोजित कार्यक्रममा खाँदबारी नगरपालिका मेयर महेश थपलियाले खेमराज गुरुङको अर्धकदको शालिक र खेमराज पार्कको शिलान्यास गर्नुभएको हो ।
खाँदबारी नगरपालिकाद्धारा शुक्रबार सार्वजनिक बिदा
हरिबोधिनी एकादशीका अवसरमा खाँदबारी नगरपालिकाले आज शुक्रबार एक दिन सार्वजनिक बिदा दिएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको मनकामना तथा मनकामना मेलाको अवसरमा खाँदबारी नगरपालिका मातहतका कार्यालयहरु, सम्पूर्ण शैक्षिक संघसंस्था लगायत एक दिन सार्वजनिक बिदा दिइएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाद्धारा जारी विज्ञप्तिमा जनाएको छ ।


















