नेभिगेसन मेनु

नौ वर्षमा सम्पन्न भएन पुल, म्याद थप्ने तयारी
समय:2026-11-19 18:56

pul-

 दोलखा, रामेछाप र जिरीजस्ता पर्यटकीय तथा व्यापारिक केन्द्र जोड्ने मुख्य मार्गमा रहेको तामाकोसी नदीको नयाँ पुल दोलखाको तामाकोसी पुल निर्माण सम्झौता भएको झन्डै नौ वर्ष पुग्न लाग्दा पनि सम्पन्न भएको छैन । 

दुई वर्षभित्र सम्पन्न हुनुपर्ने ७५ मिटर लामो आरसीसी आर्च पुल निर्माणका लागि २०७३ सालमै नीलगिरि–नेसनल जेभीसँग झन्डै १० करोड रुपियाँमा सम्झौता गरिएको पुल निर्माणको काम अलपत्र परेको हो। पुल निर्माणको काम अझै अधुरै रहँदा स्थानीयवासी तथा यात्रुहरू सास्ती खेप्न बाध्य छन्। 

नयाँ पुल नबन्दा जीर्ण र हल्लिने पुरानो पुलबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको र पुरानो पुलको मर्मतसम्भार तथा रङरोगनमा भइरहेको खर्चप्रति पनि स्थानीयको गुनासो रहेको स्थानीय केशव काफ्लेले बताउनुभयो। 

पुल सेक्टर काठमाडौँकी प्रमुख रत्नलक्ष्मी बज्राचार्यका अनुसार १५ औँ संशोधनमार्फत क्रोनिक ठेक्काअन्तर्गत उक्त पुलको म्याद जेठ मसान्तसम्म थपिएको छ। असार २० मा प्रक्रिया अघि बढेपछि साउन ३० सम्म निवेदन दिने अवधि रहेको र भदौ २४–२५ तिर म्याद थप गरिएको बज्राचार्यले जानकारी दिनुभयो। 

म्याद थप गरिए पनि निर्माण व्यवसायीलाई मङ्सिर महिनाभरिमा देखिने गरी प्रगति नदेखाए ठेक्का तोड्ने चेतावनी दिइएको उहाँको भनाइ छ। 

अर्कोतर्फ, पुरानो पुल कामै नलाग्ने अवस्थामा नरहेको र रङरोगन पुरानो भएकाले नै मर्मत गरिएको बज्राचार्यले स्पष्ट पार्नुभयो। फलामको पुलमा खिया लाग्न नदिन तथा भार लिने तल्लो संरचना जोगाउन मर्मत, रङरोगन र आवश्यक पार्टपुर्जासमेत फेरिएको उहाँले बताउनुभयो।

निर्माण कम्पनीले फर्मा तथा निर्माण सामग्री जुटाउने प्रक्रिया अघि बढाए पनि नदीमा पानीको बहाव तथा प्राविधिक कारणले मङ्सिरको अन्त्यतिरबाट मात्र फिल्डको कामले गति लिने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। 

निर्माण व्यवसायी आर्थिक रूपमा त्यति बलियो नरहेको देखिए पनि पुल जसरी पनि सक्नुपर्छ भन्ने प्राथमिकताका साथ कार्यालयले समन्वय र ताकेता गरिरहेको बज्राचार्यले बताउनुभयो।

 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी