
बाजुराको तीन खोलामा एकै पटक तीन वटा झोलुङ्गे पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् । वर्खाको समय दैनिक काम कार्यमा आउँदा–जाँदा ज्यान जोखिममा पारेर खोला तर्दै आएका यहाँका स्थानीयवासी यतिबेला त्यो खोलामा झोलुङ्गे पुल बन्ने भएपछि स्थानीय खुसी भएका हुन् ।
यहाँका घोडाकोटी र ताडीको स्थानीयहरु वर्खाको समय ज्यानको जोखिममा खोला तर्ने गरेको बुढीनन्दा नगरपालिका –४ का वडा अध्यक्ष जुल्फे रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खोलाको वारी घोडाकोट र पारी ताडी माटीखाना गाउँबस्ती छन् । त्यहाँ करिब एक सयभन्दा बढी घरधुरी छन् । त्यो घरधुरीका स्थानीयलाई वर्खाको बेला खोला तर्न समस्या हुने गरेको थियो ।”
प्रदेश सरकारको आर्थिक सहयोगमा यो वर्ष त्यो खोलामा १५५ मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएपछि यति बेला यहाँका स्थानीयहरु त्यो समस्या अब अन्त्य हुने भयो भन्दै खुसी भएको रोकायाले बताउनुभयो ।
बाजुराको बुढीनन्दा –४ को घोडाकोटी, बडीमालिका नगरपालिका –७ जिल्लीको माउलेख र वडा ६ को जडाङ्गास्थित बुढीगङ्गामा खोला गरी यतिबेला बाजुरामा तीन वटा झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ ।
तीन वटै पुल निर्माणको काम सम्पन्न गर्नेगरी ठेकेदार कर्णबहादुर विष्टले जिम्मा लिुन भएको छ । उहाँले २०८४ चैतमा सम्पन्न गर्ने गरी गत २०८३ असारमा तीन करोड २७ लाखमा तीन वटै पुल निर्माण गर्ने गरी प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयसँग सम्झौता गर्नुभएको हो ।
पुल निर्माणका लागि जिम्मा लिएको ठेकेदार विष्टले, आफूले तीनवटा झोलुङ्गे पुलको जिम्मा लिएको र सो पुल निर्माणको काम आगामी २०८४ चैतमा सम्पन्न गर्ने बताउनुभयो ।
जिम्मा लिएको तीनवटै पुलको लागत तीन करोड २७ लाख रुपियाँ रहेको छ । त्यो पैसाले बुढीनन्दा नगरपालिकाको वडा ४ को घोडाकोटी खोलामा १५५ बडीमालिका ७ जिल्लीमा रहेको माउलेख खोलामा ७५ र ६ को झडागास्थित बुढीगङ्गा खोलामा १४५ मिटर लम्बाई पुल निर्माण गर्नुपर्ने ठेकेदार विष्टले बताउनुभयो ।
प्रदेश सरकारको आर्थिक सहयोगमा बाजुराको दुई पालिकाको तीन ठाउँमा तीनवटा झोलुङ्गे पुल निर्माणका लागि गत असारमा सम्झौता भए पनि वर्खाको समय भएकाले त्यो काम त्यति बेला सुरु नभइ अहिले सुरु भएको यातायात निर्देशनालय दिपायलका कर्मचारी टेकेन्द्र कुँवरले बताउनुभयो ।
अहिले तीन वटै पुलको लेआउट गर्ने काम सम्पन्न भएको छ । केही दिनपछि ती पुलको शिलान्यास गर्ने तयारी भइरहेको कुँवरले बताउनुभयो ।


















