
सरकारले हलिया प्रथा मुक्तिको घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशका मुक्त हलिया परिवारको पुनर्स्थापना हुन सकेको छैन । सरकारले उपलब्ध गराएको पुनर्स्थापना प्याकेज जीविकोपार्जनका लागि पर्याप्त नभएको र स्वास्थ्य, शिक्षा तथा रोजगारीको व्यवस्था प्रभावकारी हुन नसकेको ‘मुक्त हलियाको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था’ नामक अध्ययनले देखाएको छ ।
वीरेन्द्रनगर नगरपालिका–९ का ५६ वर्षीय यामराज मल्लले १२ वर्षको उमेरदेखि आफन्तको घरमा हली बसेर आधा जीवन बिताउनुभयो । सरकारले हलिया प्रथा मुक्तिको घोषणा गरेसँगै उहाँले यो पेसा छाड्नुभयो तर जीविकोपार्जनका नयाँ अवसर खोज्न नसक्दा आर्थिक अभावसँग उहाँ जुधिरहनुभएको छ । जग्गा खरिद र घर निर्माणका लागि सरकारबाट उहाँले साढे चार लाख रुपियाँ प्राप्त गर्नुभएको छ तर सरकारले दिएको उक्त रकम पर्याप्त नभएको उहाँ बताउनुहुन्छ । यस्तै वीरेन्द्रनगर–१० की शान्ति चौधरी अहिले आधारभूत आवश्यकताबाट वञ्चित हुनुहुन्छ ।
हलिया बस्दा दैनिक छाक टार्न समस्या पर्दैनथ्यो । पेटभरी खान पुग्थ्यो । अहिले पुनर्स्थापनाका नाममा थप समस्या सिर्जना भएको छ । सरकारले स्वास्थ्य, शिक्षा आधारभूत आवश्यकता पुर्याउन नसकेको उहाँको भनाइ छ ।
दीपा केएसले सरकारको पुनर्स्थापना प्याकेजले मुक्त हलियाको समस्या सम्बोधन गर्न नसकेको बताउनुभयो । सरकारले रोजगारीसँगै स्वास्थ्य र शिक्षामा ध्यान दिन नसकेको उहाँको भनाइ छ । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले गरेको अध्ययनमा मुक्त हलिया स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत सेवाबाट वञ्चित रहेको देखाएको छ । कतिपयले परिचयपत्रसमेत नपाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । २०७९ सालमा अध्ययनकर्ता टोलीले हुम्ला, सुर्खेत र जाजरकोटमा अध्ययन गरेको थियो ।


















