
केदारस्युँ गाउँपालिका–१, देउरा बजारनजिक सेती नदीको किनारमा रहेको एउटा सानो टिनको छाप्रोमा हरुदेवी दमार्इंको परिवारको निकै कष्टकर दैनिकी बितिरहेको छ । यो सानो घरमा परिवारका तीन जना शारीरिक रूपमा अशक्त छन् । न आफ्नो नाममा घरजग्गा छ, न खेतबारी । न नियमित रोजगारी छ, न श्रम गरेर जीविकोपार्जन गर्न सक्ने शारीरिक अवस्था । एक छाक खानाको जोहो गर्नसमेत अरूको सहयोगमा निर्भर रहनुपर्ने बाध्यता छ । कहिलेकाहीँ सहयोग स्वरूप अन्न नजुट्दा भोकै बस्नुपर्ने अवस्था आउँछ ।
शरीरमा लगाउने कपडासमेत अरूले दिएको भरमा जुटाउनुपर्ने अवस्था छ । अरूको जमिनमा बनाइएको टिनको छाप्रोमा मासिक एक सय रुपियाँ भाडा तिरेर बस्दै आएको यो परिवार विगत १३ वर्षभन्दा बढी समयदेखि अभावको जीवन धानिरहेको छ । हरुदेवीका १९ वर्षीय जेठा छोरा तुल्या नेपाली र १६ वर्षीय कान्छा छोरा जोगी नेपाली दुवै जन्मजात शारीरिक अपाङ्ग छन् ।
दुवै जना हिँडडुल गर्न सक्नुहुन्न । एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्दा हातले घिस्रिएर जानुपर्ने बाध्यता छ । आमा हरूदेवी पनि जन्मजात शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । लौरोको सहारामा घरभित्र र बाहिर आवतजावत गर्नुहुने उहाँ टाढा गएर काम गर्न सक्ने अवस्थामा हुनुहुन्न । परिवारका तिनै जना शारीरिक रूपमा अशक्त भएपछि नियमित श्रम गरेर आम्दानी गर्न सक्ने कोही छैन ।
सहयोगको भरमा गुजारा
परिवारको जीविकोपार्जनको मुख्य आधार गाउँघरका व्यक्तिबाट प्राप्त हुने अन्न र सहयोग हो । शारीरिक अवस्थाका कारण हरूदेवी आफैँ बजार र गाउँघर पुगेर अन्न माग्न सक्नुहुन्न । कहिलेकाहीँ छिमेकी तथा अन्य व्यक्तिले दिएको अन्नले परिवारको छाक टर्ने गरेको छ तर हरेक दिन सहयोग जुट्छ भन्ने निश्चित छैन ।
सहयोग नपाएका दिन भोकै बस्नुपर्ने अवस्था आउने गरेको उहाँ बताउनुहुन्छ । परिवारका दुई सदस्यले राज्यबाट मासिक दुई हजार चार सय रुपियाँ सामाजिक सुरक्षा भत्तासमेत पाउँदै आएका छन् तर तिनै जना शारीरिक रूपमा अशक्त रहेको परिवारका लागि उक्त रकम दैनिक खानपान, लत्ताकपडा र अन्य आधारभूत आवश्यकता पूरा गर्न पर्याप्त छैन । नियमित आम्दानीको अर्को स्रोत नहुँदा सामाजिक सुरक्षा भत्ता पाए पनि परिवारको जीविकोपार्जन सहज हुन सकेको छैन ।
श्रीमान् जीवित रहँदासम्म कहिले मजदुरी गरेर त कहिले गाउँघरबाट सहयोग जुटाएर परिवारको गुजारा चलाउने गरेको हरूदेवी सम्झनुहुन्छ । करिब तीन वर्षअघि श्रीमान्को निधन भएपछि परिवारको एउटा सहारा गुमेको छ । त्यसयता दुई छोराको हेरचाह र दैनिक गुजाराको जिम्मेवारी उहाँमाथि थपिएको छ ।
दमाईं परिवार विगत १३ वर्षभन्दा बढी समयदेखि देउरा बजारनजिक सेती नदीको किनारमा रहेको सानो टिनको छाप्रोमा बस्दै आएको छ । यो छाप्रोसमेत उनीहरूको आफ्नै होइन । अरूको जमिनमा बनाइएको छाप्रोमा बस्नुपर्ने बाध्यता छ ।


















