
सारङ्गी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘सिन्दुरे जात्रा’ को ट्रेलर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका प्रमुख कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, उषा खड्गीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी कलाकारले चलचित्रको छायाङ्कन तथा निर्माणका क्रममा भोगेका अनुभव सुनाउनुका साथै चलचित्रबारे जानकारी गराउनुभएको थियो ।
सरोज पौडेलको निर्देशन तथा कथा रहेको यस चलचित्रमा सविन अधिकारी र वसन्त न्यौपानेले लेखनमा सहकार्य गर्नुभएको छ । चलचित्रको कार्यकारी निर्मातामा दिनेश खड्का र निम महर्जन रहनुभएको छ । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक तथा निर्माण पक्षसँग जोडिएका जनशक्तिले नै ‘सिन्दुरे जात्रा’ निर्माण गरेका हुन् । ‘पूर्णबहादुरको सारङ्गी’ को सर्वाधिकार (राइट्स) भने यो निर्माण समूहसँग नरहे पनि सोही चलचित्रको सफलतापछि निर्देशक तथा निर्माण टिमको सहकार्यमा यो चलचित्र तयार पारिएको हो । चलचित्रमा विजय बराल र अञ्जना बराइलीको जोडीलाई पुनः दर्शकमाझ ल्याइएको छ । निर्माण पक्षका अनुसार चलचित्र यही मङ्सिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।


















