
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका तनहुँका २० जनाका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरिएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरण प्रमाणीकरण गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार रोजगारी तथा विभिन्न कामको सिलसिलामा रसुवा पुगेका बेला बाढीमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई राज्यबाट उपलब्ध हुने राहत दिलाउन सिफारिस गरिएको हो ।
स्थानीय तहबाट प्रमाणित भएर आएको विवरण एकीकृत गरी पीडित परिवारलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन शुक्रबार माथिल्लो निकायमा पठाइएको उहाँले बताउनुभयो ।
समितिले राहतका लागि सिफारिस गरेका बेपत्ता व्यक्तिमध्ये भानु नगरपालिकाका १३ जना रहेका छन् । भानु नगरपालिका–१ का सञ्जीव गुरुङ र पूजा डङ्गोल (श्रेष्ठ), वडा नं. २ का सुस्मिता कुँवर र सन्देश नेपाली, वडा नं. ४ का बर्नाबास तामाङ, वडा नं. ५ का दीपेश ढकाल, वडा नं. ८ का चिनु माया खत्री, वडा नं. ९ का औरस भण्डारी, आयुष अधिकारी, अनिल नेपाली र सुजन नेपाली, वडा नं. १० का हरि सेढाईं तथा वडा नं. ११ का विकास बाबु अधिकारीको नाम सिफारिस गरिएको छ ।
यसैगरी, व्यास नगरपालिकाका वडा नं. ५ का कीर्ति कुमाल र वडा नं. ७ का प्रताप थापा, शुक्लागण्डकी नगरपालिकाका वडा नं. १२ की बिनु गुरुङ र वडा नं. १ की पूर्ण काउरी गुरुङ, बन्दीपुर गाउँपालिका–४ का प्रताप थापा, आँबुखैरेनी गाउँपालिका–३ का हरिचन्द्र खड्का र म्याग्दे गाउँपालिका–७ का सुजन श्रेष्ठका परिवारलाई पनि राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।
बैठकले पहिरोको उच्च जोखिममा रहेको भीमाद नगरपालिका–३ स्थित बाल शैक्षिक माध्यमिक विद्यालयको पहिरो नियन्त्रणका लागि २४ लाख ६३ हजार २७३ रुपियाँ र भानु नगरपालिका–१ को सालबिस्ने बस्ती संरक्षणका लागि १७ लाख ७९ हजार ७३९ रुपियाँ प्रदेश विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउन गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै, भानु नगरपालिका–१ का सरिना लामा, शुक्र लामा, रुपा तामाङ, भिम लामा, रुपक पन्त, सुरेन्द्र लामा, यमबहादुर तामाङ, सन्तोष तामाङ, देवकुमार पिया र वडा नं. १२ का भोजबहादुर अधिकारी गरी १० परिवारको घरमा भएको क्षतिबापत राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाले क्षति पु-याएका ऋषिङ गाउँपालिका–४ स्थित गडगडीघाट, मधुवनटार र भिरकोटबेँसी नारायणटारका झोलुङ्गे पुल तथा रोमुङ सिसराघाटको विश्रामस्थल र ठाँटी पुनर्निर्माण गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको छ ।
साथै, सिरकोटबेँसी सिगुवाटार र ऋषिङ–३ को सोलुङबेँसी झोलुङ्गे पुल मर्मत तथा संरक्षणका लागि स्थानीय पूर्वाधार विकास विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो ।
बैठकमा बाघभञ्ज्याङ, अकला र धरादीपाखा सामुदायिक वनमा विपद्का कारण ढलेका २५० वटा रुखबाट चार हजार ५२५.३६ क्युफिट काठ र ९.७३ चट्टा दाउरा उत्पादन हुने विवरणसमेत पेस गरिएको थियो ।


















