
बैतडीको पाटन नगरपालिका–३, गुजरकी ९१ वर्षीया धिङडी भट्टले जीवनको उत्तरार्धमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्नुभएकी भट्टलाई बिहीबार घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सञ्चालन गरेको ‘अशक्तसँग प्रजिअ’ कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० मीना अर्याल स्वयं भट्टको घरमा पुगेर नागरिकता हस्तान्तरण गर्नुभएको हो ।
जीवनका नौ दशक पार गरिसक्दा पनि नागरिकता पाउन नसक्नुभएकी भट्टले घरमै प्रमाणपत्र पाएपछि खुसी व्यक्त गर्नुभएको पाटन नगरपालिका–३ का वडाध्यक्ष करुणाकर भट्टले जानकारी दिनुभयो । शारीरिक अशक्तताकै कारण उहाँ वर्षौंदेखि नागरिकताबाट वञ्चित रहनुभएको थियो ।
घरदैलोमै नागरिकता वितरण
भौगोलिक विकटता, शारीरिक अशक्तता तथा आर्थिक अभावका कारण सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने नागरिकलाई लक्षित गरी प्रशासनले यो कार्यक्रम सञ्चालन गरेको हो । बिहीबार मात्रै पाटन नगरपालिकाका विभिन्न स्थानमा पुगेर चार जना अशक्त नागरिकलाई घरदैलोमै नागरिकता वितरण गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।
यस अभियानअन्तर्गत बैतडीमा हालसम्म १५ जना अशक्त तथा अपाङ्गता भएका व्यक्तिले घरमै नागरिकता प्राप्त गरिसकेका छन् । नागरिकता प्राप्त गरेपछि उनीहरूलाई सामाजिक सुरक्षा भत्तालगायत राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधा लिन सहज भएको प्रशासनले जनाएको छ ।
सबै वडामा तथ्याङ्क सङ्कलन
जिल्ला प्रशासन कार्यालयले कार्यक्रमलाई जिल्लाभर विस्तार गर्ने योजना बनाएको छ । प्रजिअ अर्यालका अनुसार जिल्लाका १० वटै स्थानीय तहका ८४ वटै वडाबाट नागरिकता लिन बाँकी रहेका अशक्त तथा अपाङ्गता भएका व्यक्तिको विवरण सङ्कलन गरिसकिएको छ ।
“सङ्कलित विवरणका आधारमा जिल्लाका सबै कुनाकाप्चामा पुगेर वास्तविक अशक्त नागरिकलाई नागरिकता प्रदान गर्ने हाम्रो लक्ष्य छ,” प्रजिअ अर्यालले भन्नुभयो ।
प्रशासनले अशक्त तथा अपाङ्गता भएका व्यक्तिको अवस्थाअनुसार सम्बन्धित व्यक्तिको घर, पायक पर्ने स्थान वा वडा कार्यालयमा पुगेर नागरिकता वितरण गर्दै आएको जनाएको छ ।
सरकारी सेवा लिन नागरिक नै कार्यालय पुग्नुपर्ने परम्परागत अभ्यासलाई परिवर्तन गर्दै प्रशासन आफैँ नागरिकको घरदैलोमा पुग्न थालेपछि स्थानीयवासीले कार्यक्रमको प्रशंसा गरेका छन् । दुर्गम बस्तीका अशक्त र असहाय नागरिकका लागि ‘अशक्तसँग प्रजिअ’ कार्यक्रम प्रभावकारी बनेको स्थानीयको भनाइ छ ।


















