
सरकारले दुर्घटनामा घाइते हुने तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा विशेषज्ञ सेवासहितका प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ट्रमा उपचार सेवा राजधानीमा मात्र सीमित नराखी प्रदेशस्तरमा विस्तार गर्ने सरकारको नीति रहेको बताउनुभयो । उहाँले आवश्यक जनशक्ति, उपकरण र विशेषज्ञ चिकित्सकसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने जानकारी दिनुभयो ।
मन्त्री मेहताले ट्रमा सेन्टर स्थापना गर्नु भनेको भवन निर्माण गर्नु मात्र नभई विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउनु भएको स्पष्ट पार्नुभयो ।
“ट्रमा सेन्टर भन्नेबित्तिकै एउटा भवन मात्र सोच्नु हुँदैन । यो अति विशिष्टीकृत सेवा हो । त्यहाँ आवश्यक विशेषज्ञ सेवा र पूर्ण उपचार प्रणाली हुनुपर्छ,” उहाँले भन्नुभयो ।
मन्त्री मेहताका अनुसार हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने कतिपय बिरामीको उपचार जिल्ला तथा प्रदेशस्तरमै सम्भव छ । आवश्यक जनशक्ति, उपकरण र विशेषज्ञ सेवाको अभावमा सामान्य तथा मध्यम प्रकृतिका चोटपटक लागेका बिरामीसमेत केन्द्रीय अस्पतालमा आउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
प्रादेशिक ट्रमा सेन्टर स्थापना भएपछि बिरामीको रेफरल प्रणाली व्यवस्थित हुनुका साथै गम्भीर प्रकृतिका बिरामीलाई मात्र केन्द्रीय तथा विशिष्टीकृत अस्पतालमा पठाउन सहज हुने उहाँको भनाइ छ ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्र मरासिनीले सेन्टरले दुर्घटना तथा आकस्मिक अवस्थाका बिरामीलाई विशिष्टीकृत उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार २०० शय्या क्षमताको राष्ट्रिय ट्रमा सेन्टर नेपाल सरकारको एक मात्र केन्द्रीय ट्रमा सेन्टरका रूपमा सञ्चालनमा रहेको छ । सेन्टरबाट हालसम्म एक लाख २४ हजारभन्दा बढी बिरामीले उपचार सेवा लिएका छन् भने करिब १९ हजार बिरामीले आकस्मिक सेवा प्राप्त गरेका छन् ।
अस्पतालको शय्या उपयोग दर ९० प्रतिशतभन्दा माथि रहेको र मृत्युदर घटेर १.४४ प्रतिशतमा झरेको डा। मरासिनीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा अस्पतालको पुँजीगत खर्च करिब ९८ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।
सेन्टरमा आधुनिक उपचार उपकरण थप गर्ने प्रक्रिया पनि अघि बढाइएको छ । डा। मरासिनीका अनुसार १२८ स्लाइसको सिटी स्क्यान र एमआरआई उपकरण खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आन्तरिक दरबन्दीसम्बन्धी प्रतिवेदनसमेत पारित भइसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले सेन्टरलाई पूर्ण रूपमा कागजरहित बनाउने, सघन उपचार कक्ष (आईसीयू) तथा उच्च निर्भरता उपचार कक्ष (एचडीयू) का शय्या विस्तार गर्ने र अस्पतालकै फार्मेसीबाट गुणस्तरीय इम्प्लान्ट उपलब्ध गराउने योजना प्राथमिकतामा रहेको पनि उहाँले बताउनुभयो ।


















