नेभिगेसन मेनु

कोशीको तटबन्ध अनुगमनपछि नेपाल–भारतको संयुक्त बैठक बस्दै
सम्पादक:南亚网络电视
समय:2026-11-06 16:38

Untitled-1

सप्तकोशी नदीको पूर्वी र पश्चिमी तटबन्धमा बर्खायाममा आएको बाढीले पु-याएको क्षति तथा सम्भावित जोखिमको अवस्था पहिचान गर्न नेपाल र भारतका प्राविधिक सम्मिलित संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ ।

नेपाल र भारतका जलस्रोत तथा सिँचाइ क्षेत्रका प्राविधिकसहितको संयुक्त टोलीले कात्तिक १७ देखि १९ गतेसम्म चतरादेखि भारतीय सीमासम्मका दुवैतर्फका तटबन्ध तथा नदी नियन्त्रणका संरचनाको अवस्था निरीक्षण गरेको हो । बाढीका कारण क्षति पुगेका र तत्काल मर्मतसम्भार गर्नुपर्ने स्थान पहिचान गरी आवश्यक काम अघि बढाउने उद्देश्यले अनुगमन गरिएको बताइएको छ । 

स्थलगत अनुगमनपछि बिहीबार नै भारतको वीरपुरस्थित जलस्रोत विभागको कार्यालयमा कोसी उच्चस्तरीय समितिको बैठक बस्दै छ । बैठकमा अनुगमनका क्रममा पहिचान भएका क्षति, मर्मतसम्भार गर्नुपर्ने संरचना, आवश्यक लागत अनुमान तथा आगामी कामको प्रक्रियाबारे छलफल गरी निर्णय गरिने कोशी योजना विराटनगर सम्पर्क तथा भूआर्जन कार्यालयका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

कोशी उच्चस्तरीय समितिमा भारत र नेपालका उच्चस्तरीय प्रतिनिधिमण्डल रहेका छन् । भारतका तर्फबाट गङ्गा बाढी नियन्त्रण आयोग, पटना, केन्द्रीय जल आयोग, नयाँ दिल्ली, तल्लो गङ्गा बेसिन सङ्गठन, पटना, केन्द्रीय जल तथा विद्युत् अनुसन्धान केन्द्र, पूर्णया तथा विहार सरकारको जलस्रोत विभाग अन्तर्गत पटना र दरभङ्गाका प्राविधिक अधिकारीको प्रतिनिधित्व रहेको छ । त्यसै गरी नेपालका तर्फबाट कोशी तथा बागमती नदी व्यवस्थापन आयोजना, विराटनगरका आयोजना प्रबन्धक र नेपाल सरकारको जलस्रोत मन्त्रालयका उपमहानिर्देशक समितिमा सदस्यका रूपमा रहेका छन् ।

समितिको स्थलगत निरीक्षण २०८३ कात्तिक १७ देखि १९ गतेसम्मका लागि तय गरिएको पत्रमा उल्लेख छ । समितिको अध्यक्षता गङ्गा बाढी नियन्त्रण आयोगका अध्यक्षले गर्ने व्यवस्था रहेको छ । अनुगमन टोलीमा नेपालका सिँचाइ विभाग तथा कोशी–बक्राहा नदी नियन्त्रण आयोजनाका प्राविधिक इन्जिनियर, जलस्रोतसम्बन्धी अधिकारी र सम्बन्धित प्रशासनिक निकायका प्रतिनिधि सहभागी रहेको सिटौलाले बताउनुभयो । भारतीय पक्षबाट जलस्रोत विभाग तथा बाढी नियन्त्रणसम्बन्धी प्राविधिक अधिकारी सहभागी छन् ।

अनुगमन टोलीले सप्तकोशीको पूर्वी र पश्चिमी तटबन्धको अवस्था, नदीले कटान गरेका स्थान, बाढीबाट क्षति पुगेका संरचना तथा सम्भावित जोखिम क्षेत्रको प्राविधिकसहितको निरीक्षण गरेको छ । अनुगमनबाट प्राप्त विवरणका आधारमा मर्मतसम्भार गर्नुपर्ने स्थानको लागत अनुमान तयार गरी आवश्यक प्रक्रिया अघि बढाइने सिटौलाले बताउनुभयो ।

उहाँका अनुसार प्राविधिक टोलीले तयार पारेको विवरण र लागत अनुमानका आधारमा भारतीय पक्षबाट आवश्यक कामका लागि टेन्डर आह्वान गरिने छ । निर्धारित कार्यतालिका अनुसार मर्मतसम्भारका काम सुरु गरी आगामी वैशाख १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कोशी नदीको तटबन्धको अवस्था र जोखिमयुक्त क्षेत्र पहिचान गर्न नेपाल र भारतका उच्चस्तरीय प्राविधिक तथा प्रशासनिक टोलीले प्रत्येक वर्ष संयुक्त रूपमा स्थलगत अनुगमन गर्दै आएका छन् । 

अनुगमनबाट पहिचान भएका जोखिमयुक्त स्थानमा तटबन्ध मर्मतसम्भार गर्नुका साथै आवश्यकता अनुसार थप संरचना निर्माणका कामसमेत हुँदै आएको कोशी योजना विराटनगरले जनाएको छ । यस वर्षको अनुगमनबाट पहिचान भएका क्षतिग्रस्त तथा जोखिमयुक्त क्षेत्रमा पनि मर्मतसम्भार र आवश्यक थप निर्माणका काम अघि बढाइने जनाइएको छ । संयुक्त अनुगमनमा कोशी–बक्राहा सिँचाइ आयोजना, सुनसरी–मोरङ सिँचाइ आयोजना, कोशीटप्पु वन्यजन्तु आरक्ष तथा सुनसरी, सप्तरी र उदयपुर जिल्लाका प्रशासनिक निकायका प्रतिनिधिसमेत सहभागी रहेको बताइएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी