
बुङ्गल नगरपालिका –५ खोगोलाडीका ५६ वर्षीय सिद्धराज कुँवरको बगैँचामा पुग्दा हरियालीसँगै सुन्तलाका बोटहरुले जोकोहीको ध्यान खिच्छ । साना–ठुला बोटमा हुर्किएका सुन्तलाका फलले बगैँचालाई आकर्षक बनाएको छ ।
कतै सुन्तलाका बोटमा फल लागेका छन् त कतै नयाँ बिरुवा हुर्किरहेका छन् । वर्षौँको मेहनत, पसिना र लगनशीलताका कारण उहाँको बगैँचाले अहिले व्यावसायिक कृषि कर्मको सुन्दर स्वरूप लिएको छ ।
कृषि पेसालाई जीवनको मुख्य आधार बनाउनुभएका कुँवरले आफ्नो बारीमा साना–ठुला गरी एक हजार पाँच सयभन्दा बढी सुन्तलाका बोट हुर्काउनुभएको छ । सुन्तला खेतीसँगै तरकारी, केरा र उखु खेतीसमेत गर्दै आउनुभएका उहाँ आफ्नै गाउँमा बसेर कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ ।
उहाँको बगैँचामा सुन्तला फल्ने गरे पनि त्यसलाई सहज रूपमा बजारसम्म लैजाने बाटो छैन । उत्पादनको सम्भावना र आम्दानीको अवसर हुँदाहुँदै सडक तथा बजारको अभावले अपेक्षित प्रतिफल लिन नसकेको उहाँको अनुभव छ । बगैँचामा फल्ने सुन्तलाले समृद्धिको सपना देखाए पनि बजारसम्म पुग्नुपर्ने कठिन यात्राले उहाँलाई चिन्तित बनाएको छ ।
बुवा गौरीलाल कुँवर र आमा झुपारीदेवी कुँवरका जेठा छोरा सिद्धराज विगत १५ वर्षदेखि निरन्तर कृषि पेसामा सक्रिय हुनुहुन्छ । सामान्य खेतीपातीबाट सुरु भएको उहाँको कृषियात्रा अहिले उहाँले नवीन कृषि तथा पशुपन्छी फार्म दर्तागरी व्यावसायिक स्वरूपमा विस्तार गर्नुभएको छ ।
समयसँगै खेतीको क्षेत्र विस्तार गर्दै जानुभएका उहाँले सुन्तला खेतीलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ । त्यसबाहेक मौरीपालन, मौसमी तथा बेमौसमी तरकारी, केरा र उखु खेतीलाई पनि निरन्तरता दिँदै आउनुभएको छ ।
वार्षिक १० लाखसम्म आम्दानी
कुँवरको कृषि व्यवसाय अहिले परिवारको आम्दानीको महत्वपूर्ण आधार बनेको छ । उहाँका अनुसार सुन्तला बिक्रीबाट मात्रै वार्षिक करिब ६ देखि ७ लाख रुपियाँ आम्दानी हुने गरेको छ । त्यस्तै, तरकारी, केरा, उखु तथा अन्य कृषिउपजको बिक्रीबाट थप २ देखि ३ लाख रुपियाँ आम्दानी हुने गरेको छ ।

सबै कृषि व्यवसायलाई जोड्दा उहाँको वार्षिक आम्दानी करिब ९ देखि १० लाख रुपियाँ पुग्ने गरेको उहाँले बताउनुभयो । एउटै खेतीमा निर्भर नभइ विभिन्न कृषिउपज उत्पादन गर्ने उहाँको अभ्यासले कृषि व्यवसायमा विविधीकरणको महत्वसमेत देखाएको छ ।
सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले बगैँचाको विस्तार र व्यवस्थापनमा पनि निरन्तर मेहनत गर्दै आउनुभएको छ । नयाँ बिरुवा हुर्काउने, पुराना बोटको हेरचाह गर्ने र अन्य कृषिउपज उत्पादन गर्ने उहाँको दैनिकी बनेको छ ।
गाउँमै बसेर कृषि व्यवसायबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्न सकिने उहाँको अनुभवले वैदेशिक रोजगारी तथा बाहिरको रोजगारीलाई मात्र आर्थिक उन्नतिको विकल्प ठान्ने सोचलाई पनि चुनौती दिएको छ ।
बजारसम्म पुग्न सास्ती
कृषि व्यवसायमा राम्रो आम्दानी गर्दै आउनुभएका कुँवरका लागि भने उत्पादित वस्तुको बजारीकरण सबैभन्दा ठुलो चुनौती बनेको छ । बारीमा उत्पादन भएको सुन्तला तथा तरकारी बजारसम्म लैजान सहज सडक सुविधा नहुँदा उहाँले लामो समयदेखि समस्या भोग्दै आउनुभएको छ ।
उहाँको गाउँ खोगोलाडीबाट बिजगडा बजारसम्म पुग्न समेत एकदेखि दुई घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । सडकको सहज पहुँच नहुँदा बारीमा उत्पादन भएको कृषिउपज बजारसम्म लैजान कठिन हुने गरेको छ । विशेषगरी सुन्तला तथा तरकारीजस्ता कृषिउपज ढुवानी गर्न थप श्रम र समय खर्चिनुपर्ने अवस्था छ ।

एकातिर वर्षभरि बारीमा मेहनत र लगानी गर्नुपर्ने, अर्कोतिर उत्पादन बिक्री गर्न बजारसम्म लैजान कठिन हुने अवस्थाले किसानलाई समस्यामा पारेको उहाँको भनाइ छ । सुन्तलाको उत्पादन राम्रो भए पनि सहज बजार र उचित मूल्यको अभावमा मेहनतअनुसारको प्रतिफल लिन नसकेको उहाँको गुनासो छ ।
उत्पादन बढाउने उद्देश्यले किसानले वर्षौसम्म मेहनत र लगानी गरे पनि उत्पादनपछिको बजारीकरणमा पर्याप्त ध्यान नदिइँदा उहाँहरुले अपेक्षित लाभ लिन नसकेको अवस्था छ ।
पूर्वाधारमा चुनौती
बुङ्गल नगरपालिका कृषि उत्पादनको दृष्टिले सम्भावना बोकेको क्षेत्र हो । यहाँका विभिन्न बस्तीमा सुन्तला, फलफूल, तरकारी तथा अन्य कृषिउपज उत्पादन गर्न सकिने सम्भावना छ । तर, सडक, ढुवानी, बजार व्यवस्थापन तथा प्राविधिक सहयोगको अभावले कृषि व्यवसायले अपेक्षित गति लिन सकेको छैन ।
खोगोलाडीका कुँवरले व्यावसायिक रूपमा गर्दै आउनुभएको सुन्तला खेतीले यस क्षेत्रको कृषि सम्भावनालाई उजागर गरेको छ । स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजलाई व्यवस्थित रूपमा बजारसम्म लग्नसके किसानको आम्दानी बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्न सक्ने स्थानीय दिपक कुँवरले बताउनुभयो ।
कृषि उत्पादन हुने बस्तीलाई सडक सञ्जालसँग जोड्ने, कृषिउपज सङ्कलन केन्द्र स्थापना गर्ने, ढुवानीमा सहुलियत उपलब्ध गराउने र बजारसँग किसानको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने व्यवस्था गर्न आवश्यक रहेको उहाँको गुनासो छ ।

त्यस्तै, कृषकलाई गुणस्तरीय बिरुवा, कृषि उपकरण, रोग तथा कीरा नियन्त्रणसम्बन्धी प्राविधिक परामर्श र आवश्यक अनुदान उपलब्ध गराउन सके व्यावसायिक कृषि थप विस्तार हुन सक्ने किसानहरुले बताएका छन् ।
सिद्धराज कुँवरको वर्षौँको मेहनतले हराभरा बनेको उहाँको बगैँचाले गाउँमै बसेर कृषि व्यवसायबाट आत्मनिर्भर बन्न सकिने सम्भावना देखाएको छ । तर, उत्पादन भएको वस्तुले सहज बजार र उचित मूल्य नपाउँदा किसानको मेहनतले अपेक्षित प्रतिफल पाउन सकेको छैन ।


















