
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । फाइनल प्रवेशका लागि चितवनले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई समेटिएको छ । चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ ।
यस खेलको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग छ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो । उक्त खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
चितवन भने बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो । उक्त खेलमा चितवनले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २०४ रन बनाएको थियो । जवाफमा काठमाडौँ १४३ रनमा समेटिएको थियो ।
काठमाडौँविरुद्धको खेलमा चितवनका कामिल मिसाराले ५९ बलमा अविजित १२० रन बनाउनुभएको थियो । उहाँले रवि बोपारासँग तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गर्नुभएको थियो । बोपाराले ४२ बलमा ५३ रन बनाउनुभएको थियो ।
सुदूरपश्चिमले लिग चरणमा सात खेलबाट पाँच जितसहित १० अङ्क जोड्दै दोस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो । चितवन भने तीन जित, तीन हार र एक खेल वर्षाका कारण रद्द भएपछि सात अङ्कसहित चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।
दुवै टोलीका लागि फाइनल प्रवेशको यो निर्णायक अवसर हो । चितवन पहिलो पटक एनपिएलको फाइनलमा पुग्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपाधि भिडन्तमा स्थान बनाउने प्रयासमा छ ।

















