
ताप्लेजुङको पाथीभरामा एक महिनामा ४९ लाख ८७ हजार २०० रुपियाँ भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् ।
एक सातासम्म संकलन भएको भेटी फेदीमा राखिने गरिएको छ भने त्यसपछि फुङलिङको कार्यालयमा ल्याएर गणना गरी बैँकमा जम्मा गरिँदै आएको हाङबाङले बताउनुभयो । उहाँका अनुसार कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गरिने समितिले जनाएको छ ।
कात्तिक महिनामा ६४ हजार १०६ दर्शनार्थी मन्दिर पुगेका थिए । गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकैदिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो साता मङ्गलबार १० हजार ६१६ जना भक्तजन पाथीभरा पुगेका थिए ।
समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालुसहितका हिमशृङ्खला र प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय धार्मिक दर्शनसँगै पदयात्रा र प्राकृतिक सौन्दर्य अवलोकनका लागि आउने पर्यटकसमेत बढ्न थालेका छन् ।
विशेषगरी चाडपर्व, बिदा तथा धार्मिक अवसरमा नेपालका विभिन्न जिल्ला र भारतको सिक्किम, दार्जिलिङ, आसामलगायत क्षेत्रबाट समेत ठुलो संख्यामा भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
















