
कालीकोट सदरमुकाम मान्म बजार पहिरोको उच्च जोखिममा छ । सदरमुकामको पूर्वतिरको जिरो प्वाइन्ट क्षेत्र असुरक्षित छ भन्ने १७ वर्षअघि गएको पहिरोले पुष्टि गर्छ । २०६६ सालमा सदरमुकाम मान्मको पूर्व क्षेत्र जिरो प्वाइन्टमा पहिरो गयो । त्यस क्षेत्रमा धेरै घर नबनिसकेकाले भौतिक तथा मानवीय क्षति भएन । केही घर चर्किएका थिए भने जमिन भासिँदै गएको थियो । त्यहाँ २०७० सम्म कसैले पनि घर बनाएनन् ।
तर अहिले जिरो प्वाइन्टमा तीनदेखि सात तलासम्मका घर धमाधम बनेका छन् । २०६६ सालको पहिरोलाई प्रत्यक्ष देखेकाले घर नबनाउन सुझाव दिए पनि जग्गाधनीले भने जोखिमको कुनै प्रवाह गरेका छैनन् । १७ वर्षपछि पुनः जिरो प्वाइन्टमा पहिरोको जोखिम बढेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको विपत् प्रतिकार्य योजना निर्माण समितिले प्रत्येक वर्षको योजनामा जोखिम उल्लेख गरेको हुन्छ तर पनि नागरिकले विश्वास नगर्दा कालीकोटको यो क्षेत्र कुनै समय ठुलो पहिरोको चपेटामा पर्ने खतरा बढेको छ ।
घरको जग खन्दा पहिरोले केही घर पुरिएका छन् भने थप जोखिम बढिरहेको छ । यहाँको खाँडाचक्र नगरपालिका यसमा मूकदर्शक मात्र होइन, पहिरो निम्ताउने प्रमुख कारक नै बनेको छ । सरकारी प्रतिवेदनले पहिरोको उच्च जोखिम भनेर उल्लेख गरिएको क्षेत्रमा नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्दा अहिले नागरिकका १४ घरभन्दा बढी जोखिममा छन् भने बजारको मूल सडक पहिरोले बगाएर दुई वर्षयता सडक बन्द छ ।
नागरिक अगुवा तथा विपत्को क्षेत्रमा काम गर्दै आउनुभएका लीलाराम न्यौपानेले आँखैअगाडिको घटना बिर्सने नागरिक र सरकारी निकायका कारणले भोलि मानवीय क्षति भोग्नुपर्ने नियति आउन सक्ने बताउनुभयो । १७ वर्षअगाडिको घटनालाई बेवास्ता गरेर पहिरोको जोखिममा धमाधम घर नबनाउन उहाँले सुझाव दिनुभयो ।


















