नेभिगेसन मेनु

पराल व्यवस्थापन गर्न चुनौती
समय:2026-11-20 17:42

Untitled-1-Recovered

 धान काट्ने ‘हार्भेस्टर’ मेसिनको प्रयोग बढेसँगै किसानलाई पराल व्यवस्थापन गर्न चुनौती हुँदै आएको छ । धान काटिसकेपछि खेतमा रहने पराल व्यवस्थापन गर्न किसानलाई चुनौती बन्दै गएको छ । परालको व्यवस्थापन हुन नसक्दा किसानले खेतमै जलाउँदै आएका छन् । पराल जलाउँदा वातावरणमा समेत नकारात्मक असर पर्ने भएकाले पराल नजलाउन कृषि विज्ञहरूले सुझाव दिएका छन् । 

पराल पशु आहार, जैविक मल तथा अन्य प्रयोजनमा प्रयोग गर्न सकिने भए पनि आवश्यक प्रविधि र उपकरणको अभावमा जलाउने प्रवृत्ति बढ्दै गएको विज्ञले बताएका छन् । पराल जलाउँदा वायुप्रदूषण बढ्नुका साथै माटोको उर्वराशक्तिमा समेत असर पर्ने भएकाले यसको वैकल्पिक व्यवस्थापनमा जोड दिइएको छ । 

बाली काटेपछि बाँकी रहने पराल तथा अन्य अवशेषको उचित व्यवस्थापन, कृषि यान्त्रिकीकरणको प्रवर्धन र किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले इटहरीमा आयोजित दुईदिने राष्ट्रिय कार्यशालामा विज्ञले यस्तो धारणा व्यक्त गरेका हुन् । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पूर्वाञ्चल क्याम्पस धरानले संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग अन्तर्गतको दिगो कृषि यान्त्रिकीकरण केन्द्रको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरेको हो । ‘कम्बोडिया, इन्डोनेसिया र नेपालमा जलवायु–स्मार्ट बाली अवशेष व्यवस्थापनका लागि यान्त्रिकीकरणमा आधारित समाधानहरूको सुदृढीकरण’ परियोजना अन्तर्गत आयोजित कार्यशालामा नेपाल, भारत र चीनका कृषिविज्ञ, अनुसन्धानकर्ता, सरकारी अधिकारी, सहकारीकर्मी तथा कृषि यन्त्र व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यशालामा नेपालमा एकीकृत बाली अवशेष व्यवस्थापनको अवस्था, सम्भावना, चुनौती र विस्तारका उपायबारे छलफल गरिएको थियो । विशेष गरी धानको पराललगायत अन्य बालीका अवशेष जलाउने वा खेतमै फाल्ने प्रवृत्ति रोक्दै तिनलाई कृषि उत्पादन, जैविक मल र ऊर्जाका रूपमा उपयोग गर्ने विषयमा विज्ञले जोड दिएका थिए । 

वरिष्ठ कृषि इन्जिनियर सङ्गीता श्रेष्ठले बाली तथा पराल व्यवस्थापनमा कृषि यन्त्र भाडा प्रणाली विस्तार गर्दा देखिएका नीतिगत, योजनागत र व्यावहारिक अवरोधबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी प्रतीककुमार मिश्रले डिजिटल प्रविधिमार्फत किसानलाई कृषि यन्त्रसँग जोड्ने उपायबारे जानकारी दिँदै मोबाइल एप्लिकेसनको प्रयोग प्रदर्शन गर्नुभएको थियो । कृष्ण दाना उद्योगका अध्यक्ष रोमन कट्टेलले खेतबारीको पराल व्यवस्थापनको सफल अभ्यास प्रस्तुत गर्नुभएको थियो । सगुन कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष टीकादत्त वनले कृषि यन्त्र भाडामा लिएर खेतमै पराल व्यवस्थापन गर्दाको अनुभव सुनाउनुभयो । उहाँले कृषि यन्त्रको प्रयोगबाट किसानलाई पराल व्यवस्थापन गर्न सहज हुने बताउनुभयो । 

चाइना एग्रिकल्चर विश्वविद्यालयका सङ्काय उपप्रमुख डा. जिन हेले चीनमा बाली अवशेष व्यवस्थापनका लागि अपनाइएका कृषि यान्त्रिकीकरणका उपायबारे जानकारी गराउनुभयो । भारतको केन्द्रीय कृषि इन्जिनियरिङ संस्थानका निर्देशक डा. सिआर मेहताले कृषि यन्त्र भाडा केन्द्र (कस्टम हायरिङ सेन्टर) को वित्तीय व्यवस्थापन र यान्त्रिक माध्यमबाट बाली अवशेष व्यवस्थापन गर्ने उपाय प्रस्तुत गर्नुभएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी