
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि यात्रामा कायम रहन काठमाडौँ गोर्खाज र चितवन राइनोजले आज निर्णायक प्रतिस्पर्धा गर्दैछन् । लिग चरणको प्रदर्शनका आधारमा प्लेअफमा पुगेका दुवै टोलीका लागि आजको खेल प्रतियोगितामा आफ्नो भविष्य तय गर्ने अवसर बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने इलिमिनेटर खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् । यस खेलमा पराजित हुने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने विजेता टोलीले फाइनल प्रवेशको सम्भावना जीवित राख्नेछ ।
लिग चरणमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको काठमाडौँ गोर्खाज तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । सात खेल खेलेको काठमाडौँले चार खेलमा जित र तीन खेलमा हार बेहोरेको थियो । चितवन राइनोज भने चौथो स्थानमा रहँदै इलिमिनेटरमा प्रवेश गरेको हो । चितवनले सात खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
अङ्क तालिकामा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टोलीबिचको प्रतिस्पर्धाले दोस्रो क्वालिफायरको समीकरण निर्धारण गर्नेछ । काठमाडौँ लिग चरणको लयलाई निरन्तरता दिने योजनामा रहँदा चितवन पनि जितसहित उपाधि यात्रालाई अघि बढाउने लक्ष्यमा हुनेछ ।
आजको खेल जित्ने टोलीले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

















