
विश्वका प्रमुख तीन शक्ति राष्ट्र अमेरिका, चीन र रुसले विश्वमा जारी अस्थिरता, अन्योल र अशान्तपूर्ण अवस्था अन्त्य गर्न संयुक्त शान्तिको घोषणा गरेका छन् ।
चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी विश्वका तीन शीर्ष नेता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बिहीबार भएको ऐतिहासिक शिखरवार्तामा संयुक्त शान्तिको घोषणा गरिएको हो ।
‘किलिन भिल्ला’ मा ९० मिनेटसम्म भएको त्रिपक्षीय शिखर वार्तालगत्तै तीन देशले ‘संयुक्त शान्ति घोषणापत्र’ जारी गरेको अमेरिकी निजी टेलिभिजन सिएनएनले जनाएको छ । संयुक्त घोषणापत्रमा तिनै शीर्ष नेताले ‘आणविक युद्ध कहिल्यै जित्न सकिँदैन र यो कहिल्यै लड्नु हुँदैन’ भन्ने साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यस अवसरमा राष्ट्रपति ट्रम्पले विश्वका तीन ठुला आणविक शक्ति राष्ट्र आणविक भण्डार घटाउनका लागि विशेष भूमिकामा रहेको बताउनुभयो । राष्ट्रपति सीले आणविक युद्ध रोक्न हरसम्भव प्रयास गर्नुपर्ने र विश्वलाई आणविक हतियारमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले विश्वव्यापी ऊर्जा प्रवाहलाई स्थिर र सुरक्षित राख्न सहकार्य गर्ने सहमति जनाउनुभएको छ । राष्ट्रपति सीले महाशक्तिहरूबिच शान्ति कायम रहे मात्र विश्व सुरक्षित रहने बताउनुभयो । राष्ट्रपति पुटिनले पनि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का स्थायी सदस्यका नाताले अन्तर्राष्ट्रिय शान्तिसुरक्षा कायम राख्नु तिनै देशको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ ।
त्रिपक्षीय शिखरवार्ताअघि ट्रम्पले पुटिन र सीसँग अलग अलग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसमा ट्रम्पले रुस र चीन दुवैले युक्रेन युद्धको अन्त्य चाहेको आफूलाई बताएको जानकारी गराउनुभएको छ । पुटिनले पनि द्वन्द्व समाधानमा तिनै देशको साझा चासो रहेको प्रतिक्रिया दिनुभयो ।
राष्ट्रपति ट्रम्पसितको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति सीले अमेरिका र चीनबिचको सम्बन्ध ‘स्थिर र सुधारोन्मुख’ रहेको बताउँदै पारस्परिक सम्मान र निष्पक्षताका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिखरवार्तापछि राष्ट्रपति पुटिनले सीलाई धन्यवाद दिँदै “वार्ता यति राम्रो होला भनेर मैले सोचेको थिइनँ” भन्ने प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपति ट्रम्पले यो शिखरवार्तालाई ‘इतिहास रचिएको क्षण’ को सङ्ज्ञा दिनुभयो भने राष्ट्रपति सीले यसलाई ‘युगान्तकारी महत्व’ को बैठक भन्नुभएको छ ।
शिखरवार्ता सकिएलगत्तै अमेरिकाका राष्ट्रपति ट्रम्प स्वदेश प्रस्थान गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विश्वका तीन प्रमुख शक्तिराष्ट्रका शीर्ष नेता एकै ठाउँमा बसेर संवादको ढोका खोल्नुलाई कूटनीतिक वृत्तमा महत्वपूर्ण मानिएको छ ।
चीनको सेन्जेनमा बुधबारदेखि सुरु भएको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनले विश्वका तीन शीर्ष नेतालाई एकै ठाउँमा जुटाएको हो ।
यसैबिच चीनका राष्ट्रपति सीले एपेकमा चीन वकालतकर्ता, प्रवर्धक र अग्रणीको भूमिकामा रहेको बताउनुभएको छ । बिहीबार एपेकका ३३ औँ आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले एसिया–प्रशान्त समुदायलाई थप सुदृढ बनाउन सबै पक्षसँग सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो ।
सीले क्षेत्रीय समुदायको विकासका लागि बलियो आर्थिक तथा व्यापारिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै व्यापार र लगानीलाई सहज बनाउने, डिजिटल प्रविधिको विकासलाई तीव्रता दिने तथा व्यापारिक अवरोध घटाउने प्रयास गर्न सबै पक्षलाई आग्रह गर्नुभयो । उहाँले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार गर्न पूर्वाधार विकास, नीति तथा नियमबिच समन्वय र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । यसबाट सदस्य राष्ट्रका नागरिकबिच आपसी समझदारी र निकट सम्बन्ध विस्तार हुने उहाँको भनाइ थियो ।
नवप्रवर्तनलाई क्षेत्रीय विकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै राष्ट्रपति सीले डिजिटल पूर्वाधार निर्माण तथा कृत्रिम बुद्धि (एआई) को व्यापक प्रयोगलाई प्रवर्धन गर्न थप प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले क्षेत्रीय अर्थतन्त्रलाई ऊर्जा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न, सीमापार भ्रष्टाचार नियन्त्रणसम्बन्धी शासन व्यवस्था सुदृढ बनाउन तथा हरित र न्यून कार्बनयुक्त अर्थतन्त्रतर्फको रूपान्तरणमा सहयोग बढाउन पनि आह्वान गर्नुभयो । नागरिकको जीवनस्तर सुधार गर्न तथा मानव पुँजीमा लगानी बढाउन सबै पक्षले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
इरानसँगको युद्धविराम निरन्तर
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता नटुङ्गिएसम्म युद्धविराम जारी रहने बताउनुभएको बिबिसीले जनाएको छ । इरानसँगको युद्धविरामको अवधि बुधबार सकिने अवस्थामा पुगेका बेला राष्ट्रपति ट्रम्पले युद्धविराम लम्ब्याउनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धविराम लम्ब्याउने राष्ट्रपति ट्रम्पको घोषणाको स्वागत गर्नुभएको छ । उहाँले युद्धविरामको उल्लङ्घन नगरी सार्थक वार्ता गर्न दुवै पक्षलाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।


















