नेभिगेसन मेनु

सत्र वर्षपछि सिंहदरबारमा बस्दै संसद् बैठक
सम्पादक:南亚网络电视
समय:2026-03-24 15:52

 

 10-RS_KTM_RSS

काठमाडौँ, चैत १० गते । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ । 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् बैठक अब सिंहदरबारस्थित निर्माणाधीन आफ्नै भवनमा बस्न लागेको हो । 

सोही भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यको शपथ यही चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ ।

विसं २०६४ चैत २८ गते भएको निर्वाचनबाट ६०१ सदस्यीय संविधानसभा गठन भएपछि पुरानो संसद् (ग्यालरी बैठक) भवन साँघुरो भएकाले संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । 

संविधानसभा अघिसम्म भने संसद् बैठक सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनमा बस्दै आएको थियो । विसं २०१६ देखि प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको थियो ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीबाट बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन ध्वस्त भएको थियो । राष्ट्रिय सभाको बैठक भने यसअघि गत माघ ४ गतेदेखि नै अस्थायी रूपमा सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा बस्दै आएको छ ।   

सङ्घीय संसद सचिवालयले संविधानसभा बैठकका लागि २०६५ जेठदेखि भाडा र कर्मचारी परिचालनसहित वार्षिक पाँच करोड ६० लाख तिर्ने गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरेको थियो । 

समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्रविक्रम सिंहका अनुसार उक्त भाडा प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि भई पछिल्लो समय गत असोजसम्म पुग्दा वार्षिक १६ करोड ५० लाख पुगेको थियो ।

सचिवालयले संसदीय गतिविधिका लागि समितिको १५३ रोपनी क्षेत्रफलमा रहेका मुख्य सभा हलसहित आठ विभिन्न हल, विशिष्ट कक्ष, पार्किङ, बगैँचालगायत प्रयोग गर्दै आएको संयोजक सिंहले बताउनुभयो । जेनजी आन्दोलनपछि संसद् सचिवालयले सूचना प्रकाशित गरी गत असोजदेखि एकतर्फी रूपमा उक्त सम्झौता रद्द गरेको छ ।

तत्काल संसद् बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको मुख्य हल निर्माण हुन केही समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हल तत्कालका लागि प्रयोग गर्ने जनाएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक हलको व्यवस्था गरिएको जानकारी दिनुभयो । मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिएको उहाँको भनाइ छ ।

निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएपछि प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी थालिएको हो । त्यसका लागि प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । 

त्यसैगरी, ज्येष्ठ सदस्य केसीले यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सबै सदस्यहरूलाई नयाँ संसद् भवनमा शपथ गराउनुहुने प्रवक्ता गिरीले बताउनुभयो । नेपालको संविधानको धारा, ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

नयाँ संसद् भवन सिंहदरबारस्थित पुतली बगैँचामा २०७६ असोज १ गते शिलान्यास गरिएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी छ ।

विभागका अनुसार संसद् भवनको सिभिल निर्माणतर्फ करिब पाँच अर्ब ५० देखि ६० करोड हाराहारी खर्च हुने अनुमान छ भने ‘इन्टेरियर’ निर्माणका लागि थप दुई अर्ब ३४ करोड लागत रहेको छ । 

करिब १५१ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद् भवन तयार भएपछि सङ्घीय संसद्का सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुने छन् ।

यसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुने छन् । संसद् भवनभित्र मुख्य भवन आठ छन् । 

भवनभित्र ३५० सिट क्षमताको संयुक्त ‘लबी’ हुने छ भने सानाठुला गरी १० संसदीय दलका कार्यालय हुने छन् । साथै चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् ‘लाइब्रेरी’लगायत संरचना निर्माण गरिएका छन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर