
काठमाडौँ, फागुन २६ गते । वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को माघसम्म छ हजार ८५० वटा उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन ।
विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी उजुरी मुद्दा र अनुसन्धान शाखामा परेका छन् । ती दुई हजार ९८७ वटा रहेको जनाइएको छ । यस अवधिमा दर्ता भएका उजुरीमध्ये २९५ वटा मिलापत्र र १९६ वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ ।
सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत १२ करोड १८ लाख ५३ हजार ५०४ रुपियाँ भराइएको विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये चार हजार ९३७ वटा उजुरी छानबिन भइरहेको छ ।
विभागका अनुसार सो अवधिमा विभागका रहेको प्रहरी शाखा तीन हजार ९८६ उजुरी दर्ता भएका छन् । जसमध्ये दुई हजार ७७५ वटा उजुरी फस्र्योट भए भने ४२१ वटा उजुरी फस्र्योट हुन बाँकी रहेको जनाइएको छ । जसबाट चार लाख चार हजार पाँच सय रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ ।
त्यसै गरी सो अवधिमा विभागमा उद्धार, राहत तथा समन्वय शाखामा ६६७ उजुरी परेकोमा ३७६ वटा उजुरीको फस्र्योट गरिएको छ । जसमा २३७ वटा उजुरीबाट चार करोड चार लाख ८४ हजार ६५० रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराएको छ । सो शाखाले सो अवधिमा आएका उजुरीमध्ये ३७६ जनालाई आपसी सहमति गराएको छ । सो शाखाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका १५९ जनालाई विभिन्न देशबाट उद्धार गरेको छ ।
विभागका उपमहानिर्देशक शिवाकोटीले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठुलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने बताउनुभयो । संस्थागत उजुरीको हकमा कारबाही गर्न पनि सहज हुने तर व्यक्तिगत उजुरीका दोषी पत्ता लगाउनै नै समय लाग्ने गरेकाले विभागमा व्यक्तिगत उजुरीको चाङ रहेको उहाँको भनाइ छ । विभागमा मध्यपूर्वका देश खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगाल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ ।
विभागका अनुसार गत आव २०८१/८२ मा १२ हजार ७९० र अघिल्लो आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । यस्तै आव २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका तीन हजार ३५६ उजुरी परेका थिए । आव २०७९/८० यता वैदेशिक रोजगारीका क्रममा हुने ठगीको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो पटक उजुरी दर्ता गर्ने दर बढेको स्पष्ट देखिन्छ ।
विभागका अनुसार गएको आव २०८१/८२ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने आठ लाख ३९ हजार जना थिए । चालु आव २०८२/८३ को माघसम्म चार लाख ६५ हजार ५०७ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
उपमहानिर्देशक शिवाकोटीले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने, विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवा धेरै भएको जानकारी गराउनुभयो ।
वैदेशिक रोजगारीका क्रममा ठगीमा परेर भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठुलो परिमाणको हुने गरेको उहाँको भनाइ छ ।





