
काठमाडौं फागुन २९ गते । राहदानी विभागले नयाँ राहदानी वितरण प्रणाली लागू गर्ने तयारी भइरहेका कारण केही समय राहदानी सेवा प्रभावित हुन सक्ने जनाएको छ। विभागले बिहिबार सार्वजनिक सूचना जारी गर्दै हाल प्रयोग भइरहेको प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण गर्ने क्रममा अस्थायी रूपमा सेवा व्यवस्थापनमा असर पर्न सक्ने बताएको हो ।
विभागका अनुसार राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता भइसकेको र नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी पूरा भइसकेको छ । तर पुरानो प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गर्ने प्रक्रियामा प्रणाली स्थिरीकरण हुन केही समय लाग्न सक्ने बताइएको छ ।
यस अवधिमा जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवामा करिब १ हप्तासम्म अवरोध हुन सक्ने जनाइएको छ। त्यसैगरी विभागबाट प्रत्यक्ष प्रदान गरिने राहदानी सेवा पनि केही समयका लागि बन्द हुन सक्ने सम्भावना रहेको सूचनामा उल्लेख गरिएको छ ।
नयाँ प्रणाली कार्यान्वयन भएपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब १ देखि ३ महिना लाग्न सक्ने विभागले जनाएको छ। यस अवधिमा जिल्ला प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका राहदानी तयार हुन र जारी हुन सामान्यभन्दा बढी समय लाग्न सक्ने सम्भावना पनि रहेको छ ।
त्यसैले आगामी ६ महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई नियमअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागमार्फत समयमै आवेदन दिन विभागले अनुरोध गरेको छ ।
नयाँ प्रणाली सुरु हुने मिति र संक्रमणकालीन व्यवस्थाबारे थप जानकारी पछि अर्को सूचनामार्फत सार्वजनिक गरिने विभागले जनाएको छ ।





