
काठमाडौँ, चैत ९ गते । तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२६ को अवसरमा बिहीबार साँझ लुम्बिनीमा स्वागत भोज कार्यक्रम आयोजना गरिएको थियाे । माया गार्डेन होटलमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठ तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सिन्हाले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र र सम्पूर्ण मानवताको साझा सम्पदा भएको उल्लेख गरे। उनले युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यस स्थलले अशोक स्तम्भजस्ता ऐतिहासिक धरोहरमार्फत बौद्ध धर्म र शान्तिको सन्देश विश्वभर फैलाइरहेको बताए।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले लुम्बिनीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे प्रकाश पार्दै नेपाल–चीनबीचको दीर्घकालीन मित्रता र साझा शान्तिका मूल्यहरूमा जोड दिए। उनले विश्वमा बढ्दो अस्थिरता र द्वन्द्वका बीच शान्ति झन् आवश्यक बन्दै गएको उल्लेख गर्दै चीन शान्ति, विकास र सहकार्य प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए।

नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै राजदूत झाङलाई हार्दिक स्वागतका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले लुम्बिनीलाई मानवताको साझा धरोहरको रूपमा वर्णन गर्दै यहाँबाट शान्ति, सहअस्तित्व र करुणाका सन्देशहरू विश्वभर फैलिएको बताए।
स्वागत भोज कार्यक्रमले सहभागीहरूबीच अन्तरक्रिया र सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्दै आपसी सद्भाव र मित्रता सुदृढ बनाउन सहयोग पुर्याएको थियो।
महोत्सवअन्तर्गत चैत ७ गते बिहान ७:०० देखि ८:४० बजेसम्म ध्यान कार्यक्रम, सोही दिन साँझ ६:०० देखि ७:३० बजेसम्म शान्ति कन्सर्ट, तथा चैत ८ गते बिहान ७:०० देखि ११:३० बजेसम्म लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना हुने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्। यी कार्यक्रमहरूले शान्ति, एकता र अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन्।





