
अमेरिकी सरकारले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता र स्वास्थ्य सुरक्षा सहायताका लागि पहल जारी राखेको जनाएको छ । नेपालस्थित अमेरिकाका कार्यवाहक राजदूत मेगन बोल्डिनले त्यसका लागि युनिसेफसँग सहकार्यका लागि बिहीबार छलफल गर्नु भएको छ ।
युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँगको भेटमा गत भदौ १० गते रसुवा–भोटेकोशीमा आएको हिमबाढीपछिको पुनर्लाभका प्राथमिकता र मानवीय सहायता समन्वयका साथै स्वास्थ्य तथा पोषणसम्बन्धी व्यापक सहयोगका विषयमा छलफल गर्नुभएको छ ।
दूतावासका अनुसार अमेरिकाले गरिरहेको सहयोगका बारेमा युनिसेफलाई अवगत गराइएको थियो । अमेरिका सरकारले नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यसअन्तर्गत बालबालिका तथा अन्य जोखिममा रहेका समूहलाई प्राथमिकतामा राख्दै आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता र बाल संरक्षण सेवाका लागि अमेरिकाको विदेश मन्त्रालयको विपत् तथा मानवीय प्रतिकार्य कोषबाट युनिसेफलाई २५ लाख अमेरिकी डलर उपलब्ध गराइएको छ ।
त्यस्तै, बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा खोप सेवा तथा खोप भण्डारण व्यवस्था पुनःस्थापना गर्न १ लाख ७६ हजार अमेरिकी डलरसमेत उपलब्ध गराएको प्रष्ट पारेको छ ।
दूतावासका अनुसार ‘अमेरिका फस्र्ट’ विश्वव्यापी स्वास्थ्य रणनीतिअन्तर्गत मातृ तथा बाल स्वास्थ्य र पोषणमा सुधार ल्याउन युनिसेफमार्फत १ करोड २० लाख अमेरिकी डलर लगानी गरिरहेको छ ।
अमेरिकी आर्थिक सहयोगले स्तनपान प्रवद्र्धन तथा शिशु आहारसम्बन्धी सहायता उपलब्ध गराउने स्वास्थ्य संस्थाहरूको प्रयासलाई सुदृढ बनाउनुका साथै नेपालमा आवश्यक भिटामिन तथा खनिजयुक्त पूरक आहारको प्रयोग सुरु गर्न सहयोग पु¥याइरहेको प्रष्ट पारेको छ ।
साथै, अमेरिकी सहयोगले भिटामिन तथा खनिज तत्त्वको कमीको अवस्था पहिचान गर्न र नेपालका पोषण कार्यक्रमहरूलाई मार्गनिर्देशन गर्न राष्ट्रिय सूक्ष्म पोषकतत्व सर्वेक्षण सञ्चालनका लागि वातावरण निर्माण गरेको दाबी गरिएको छ ।
कार्यवाहक राजदूत बोल्डिनले बाढीपछिको तत्काल परिचालन, प्रभावित समुदायसम्म सहायता पु¥याउन गरेको प्रयास तथा नेपालमा पोषणका क्षेत्रमा लामो समयदेखि कायम साझेदारीका लागि युनिसेफलाई धन्यवाद दिनु भएको थियो ।


















