नेभिगेसन मेनु

सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन शिलान्यास
समय:2026-11-24 12:51

silanyas

 भारत सरकारको अनुदानमा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड क्षेत्रीय टर्मिनल निर्माण हुने भएको छ । भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले सोमबार स्विच थिचेर सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड क्षेत्रीय टर्मिनल निर्माण गर्ने परियोजनाको शिलान्यास गर्नुभएको छ । 

सिलिगुडीदेखि नेपालको झापा चारआलीसम्म निर्माण हुने यो पाइपलाइन परियोजना दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन आयोजना हो । पाइपलाइनबाट ल्याइएको इन्धन भण्डारण गर्न स्वचालित प्रणालीमा आधारित भण्डारगृह निर्माण गरिने नेपाल आयल निगमले जनाएको छ । 

सिलिगुडीदेखि चारआलीसम्म आठ इन्च व्यासको पाइपलाइन जडान गरिने छ । पाइपालाइन भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ गरी ५० किलोमिटर लामो हुने छ । भण्डारणका लागि झापाको चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको इन्धन भण्डारणगृह निर्माण हुने छ । पेट्रोलको दुई हजार दुई सय किलोलिटर क्षमताका तीन वटा र डिजेलका चार हजार एक सय किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्क निर्माण हुने निगमले जनाएको छ । 

निगमको झापामा रहेको आफ्नै २३ बिघा तीन कट्ठा जग्गामा भण्डारणगृह निर्माण गरिने छ । निगमका कार्यकारी निर्देशक नागेन्द साहले परियोजना सम्पन्न भएपछि कोशी, मधेश प्रदेशका सप्तरी र सिराहा जिल्लामा इन्धन आपूर्ति सहज हुने जानकारी दिनुभयो । ११ अर्ब १४ करोड रुपियाँ लागतमा भण्डारण गृह र पाइपलाइन निर्माण गरिने साहले जानकारी दिनुभयो । पाइपलाइनका लागि चार अर्ब २७ करोड र ग्रिनफिल्ड टर्मिनल (भण्डारगृह) का लागि छ अर्ब ८७ करोड रुपियाँ लाग्ने अनुमान छ । पाइपलाइन र भण्डारण गृह दुवै इन्डियन आयल कर्पोरेसन (आइओसी) निर्माण गर्ने निगमले जनाएको छ । 

आइओसीबाट पाइपलाइनको विस्तृत इन्जिनियरिङ रुट सर्वे तथा टर्मिननलको डिजाइन र नक्साङ्कन कार्य सम्पन्न भइसकेको छ । शिलान्यास भएसँगै निर्माणको काम अगाडि बढ्ने साहले बताउनुभयो । निगमसँग हाल एक लाख दुई हजार किलोलिटर क्षमताको इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन) भण्डारण क्षमता छ । यो परियोजना सम्पन्न भएसँगै थप १८ हजार नौ सय किलोलिटर डिजेल र पेट्रोल भण्डारण क्षमता थपिने छ । 

सो परियोजनालाई ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि आइओसीले ३३ महिनामै सम्पन्न गर्ने योजना बनाएको कार्यकारी निर्देशक साहले जानकारी दिनुभयो । 

पाइपलाइन निर्माणसँगै सडकमार्गबाट हुने इन्धन ढुवानीमा निर्भरता घट्ने, भन्सारमा सवारीसाधनको जाम नहुने, ढुवानी खर्च बचत, प्रदूषण नियन्त्रण हुने निगमले जनाएको छ । यस परियोजना पेट्रोलियम पदार्थ ढुवानी गर्ने पूर्वाधार मात्र नभई नेपालको ऊर्जा सुरक्षा, आपूर्ति व्यवस्थापन, आर्थिक बचत र आत्मनिर्भरता कदम रहेको निगमले जनाएको छ । 

मोतिहारी–अमलेखगन्ज पाइपलाइन हस्तान्तरण

प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणका क्रममा मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । तीन अर्ब ९५ करोड रुपियाँ लागतमा सो परियोजना निर्माण भएको थियो । 

जसमा आइओसीको तीन अर्ब २० करोड र निगमको ७५ करोड रुपियाँ लगानी थियो । सो पाइपलाइन २०७६ भदौदेखि नियमित रूपमा सञ्चालनमा छ । पाइपलाइनबाट नियमित रूपमा इन्धन आयात हुँदा बजारमा आपूर्ति व्यवस्था सहज भएको निगमले जनाएको छ । पाइपलाइनबाट इन्धन आयात हुँदा ढवानी रकमसमेत बचत भएको निगमले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी