एस् ए टी भी २७ साउन २०८२, काठमाडौंः धुलिखेल नगरपालिकाको समन्वयमा नेपाल र चीनका सञ्चार माध्यमबीच यही २६ साउनमा सहकार्य सम्झौता भएको छ। सम्झौता अनुसार समाचार सामग्री आदानप्रदान, सांस्कृतिक तथा पर्यटन सम्बन्धी रिपोर्टिङमा सहकार्य र अनुभव आदानप्रदानका कार्यक्रम आयोजना गरिनेछ। पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा एकअर्काको काम दुवै देश तर्फ परिचित गराउन यो सहमति महत्वपूर्ण हुने विश्वास लिइएको छ।
सम्झौतामा धुलिखेल नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको विशेष उपस्थितिमा नेपाल र चीनका सञ्चार माध्यमका प्रतिनिधिले हस्ताक्षर गरेको हो। चीनको दक्षिण एसिया नेटवर्क टेलिभिजन र नेपालको चेष्टा साप्ताहिक, प्राइम एफएम, मदानी बिट र नेपालय न्युजबीच सहकार्य भएको हो। दक्षिण एसिया नेटवर्क टेलिभिजनका सञ्चालक हौ च्रि होङ, प्रमुख कार्यकारी अधिकृत रमिला गौतम र नेपालको तर्फबाट नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष तथा चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतिराम तिमल्सिनाले हस्ताक्षर गरे।
यो स्थानीयस्तरमा नेपाल–चीन सञ्चार माध्यमबीच भएको पहिलो सहकार्य हो। कार्यक्रममा नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले यस किसिमको सामग्री आदानप्रदानसँगै चीनको उच्च प्रविधि, सक्षम लेखक तथा स्रोतको पहुँचले नेपाली पत्रकारितामा ठुलो योगदान पुर्याउने बताउँदै यस प्रकृयामा हात अघाडी बढाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।
दक्षिण एसिया नेटवर्क टेलिभिजनका संस्थापक होङले धुलिखेल प्रत्यक्ष देख्दा खुशी लागेको बताउँदै सहकार्यले दुवै मुलुकका काम प्रचारमा मद्दत गर्ने विश्वास व्यक्त गरे भने सीईओ गौतमले यो सम्झौताले दुई मुलुकबीचको मित्रता प्रगाढ हुने बताइन्।
कार्यक्रममा चिनियाँ व्यवसायी, धुलिखेल नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, लगायतको उपस्थिती थियो। यस सहकार्यबाट दुवै तर्फका सञ्चार संस्थाहरू निकै उत्साही रहेको विश्वास लिइएको छ।