नेभिगेसन मेनु

ओहो युशु ! तिम्रो अद्भुत सौन्दर्य!
सम्पादक:南亚网络电视
लेखक:मनोज न्यौपाने
समय:2025-08-08 17:39


Yushu bhraman

एस् ए टी भी २३ साउन २०८२, काठमाडौँः दक्षिण एसिया नेटवर्क टेलिभिजन मेरो कर्मथलो हो। यहाँ काम गर्न थालेको एक वर्ष भन्दा केही बढी भएछ क्यारे। यसो भन्दै गर्दा नेपालमा यसलाई चिनाउने एउटा तरिका चाइनिज मिडिया हो। चिनियाँ सञ्चार संस्था सँग जोडिए पछि चीन प्रतिको आकर्षण सोझै बढ्दो रहेछ यस प्रकारको प्रभाव मलाई पनि अपत्यारिलो प्रकारले पर्‍यो। उसै पनि चीनले पछिल्लो समयमा प्राविधिक तथा अन्य क्षेत्रमा गरिरहेको प्रगतिले सारा संसारकै ध्यान प्रायः आफु तर्फ तानिरहेको बेला म पनि अछुतो बस्न सक्ने कुरै रहेन।

नेपाल र चीनले लामो मैत्रीपूर्ण इतिहास साझा गरेका छन्। अझै भन्दा नेपाल र सिचाङ(पहिलेको तिब्बत)ले एक अर्का सङ्ग बढी सामीप्य राखेका छन् इतिहासमा जस्तो मलाई लाग्दछ। यो मित्रतालाई बेला बेलामा नेपाल तथा चीनका उच्चस्तरीय भ्रमणले बलियो बनाउँदै लगेका छन्। सन् १९६०मा चाउ अन्लाईले गरेको भ्रमण होस् या वि पी कोइरालाले गरेको भ्रमण होस् सबै उच्च स्तरीय भ्रमणले नेपाल तथा चीनको मित्रताको बन्धन बलियो बनाउँदै बनाउँदै लगेका छन्।

चीन एउटा यस्तो मित्र तथा छिमेकी बनेर उभिएको छ जो दुख पर्दा सबै भन्दा पहिले आएर सहायताको हात अगाडि बढाउँछ। पूर्वाधार विकासमा पछिल्लो समय नेपालमा चिनियाँ लगानी तथा संस्थाहरूको उपस्थिति निकै नै उल्लेख्य मात्रामा बढेको देख्न सकिन्छ। यस्तोमा नेपालका सडकमा चिनियाँ अनुहार र चिनियाँ भाषाको उपस्थिति बाक्लिँदै गएको जो कोहीले अनुमान लगाउन सकिन्छ। चिनियाँ भाषामै समाचार लेख्ने संस्थामा काम गर्न थालेदेखि मैले अझ नजिक बाट यो कुरा अनुभव गरिरहेको छु।

नेपालमा देखिने चिनियाँहरू निकै मेहनती, काम प्रति अत्यन्तै लगनशील र इमानदार हुन्छन्। उनीहरू आफूले पाएको काम पूरा निष्ठाले गर्दछन्। जसले मलाई उनीहरूको जन्मभूमि पुग्ने उत्कट चाहना रहिरहेको थियो। त्यो अवसर यस्तो अवस्थामा जुर्‍यो जो शब्दमा वर्णन गरी नसक्ने खालको छ। नेपाल र चीनले औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको ७० वर्ष मनाउने एक उत्कृष्ट कार्यक्रम चीनको छिङ्हाई प्रान्त स्थित युशु सहरमा आयोजना हुँदै रहेछ। उक्त कार्यक्रममा हामी दक्षिण एसिया नेटवर्क टेलिभिजनलाई पनि निमन्त्रणा भएको रहेछ। रमाइलो भिसा आवेदनको किस्सा पश्चात् हामी अगस्ट १ तारिखको कार्यक्रम कालागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट छङ्दु हुँदै युशु पुग्यौँ।

छङ्दुको थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्किने बित्तीकैको विकासको नमुनाले हर कोहीको होस उडाउँछ। छङ्दु निकै सुन्दर छ। त्यहाँका चौडा सडक, अग्ला अग्ला गगनचुम्बी भवनहरूले त्यहाँको रौनकतामा स्वाद थपेका छन्। धेरै अनुभव गर्न नपाए पनि त्यहाँको दुई रातको बसाई( अझ विशेष फर्किँदाको रात)ले त्यहाँको रात्रि जीवनशैली सङ्ग परिचित हुने मौका पाइयो। छङ्दु निकै ठुलो र पूर्वाधारका हिसाबले एक बलिष्ठ शरीर भएको हृष्ट पुष्ट मानिस जस्तै रहेछ। रातको दुई बजे पनि ३४-३५ डिग्री सेल्सियसको तापक्रमले मानिसलाई तताई भने रहँदो रहेछ। त्यहाँका ससाना १५-१६ वर्षका केटा केटी पनि आफ्नै व्यवसाय गरेर रातको समयमा बसिरहेको देख्दा त्यहाँको काम प्रतिको मोह र सुरक्षा व्यवस्थाको प्रशंसा नगरी बस्न हामी सङ्ग भ्रमणमा सङ्गै हुनु भएका नेपाल सरकारका उपसचिव अनन्त कोइराला सक्नु भएन। हामीले त्यहाँ केही पेय पदार्थ पिएर आधा रात कटाएका थियौँ । 

छङ्दु कम बस्ने अवसर मिल्यो, त्यहाँ पाइने पाण्डा हेर्ने अवसर पनि मिलेन, आकाशबाट देखिएका पानीका स्रोतहरू र सडकमै देखिएको सोह्र लेनका सडकले हामीलाई केही निरीह महसुस भने गरायो। तर यात्रा भने युशुको हुँदा मलाई भने त्यो नाउँ सङ्ग नै एक खालको उत्सुकता जागिरहेको थियो।

युशुको विमानस्थलमा ओर्लिए देखि एक खालको सुन्दर स्वागत भयो। र नफर्किउन्जेल सम्म आतिथ्यमा एक रत्ती पनि कमजोरी देखिएन। त्यहाँको सरकारले नेपालबाट गएका भ्रमण दलका सदस्यलाई निकै सम्मानजनक सेवा सुविधा दिएका थिए। त्यो मायाको लागि, त्यो आतिथ्यको लागि भ्रमण दलका नायक पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मुक्त कण्ठले प्रशंसा पनि गर्नु भयो। यो महत्त्वको लागि जति शब्दकै लामो आभार लेखे पनि अपुरो अधुरो रहन्छ भन्ने मेरो पनि व्यक्तिगत ठम्याई भने रहिरह्यो।

करिब ३५०० मिटरको उचाइमा रहेको युशु केही चिसो, अक्सिजनको मात्रा केही कम भएको ठाउँ रहेछ। सन् २०१० मा विनाशकारी भूकम्पले सर्वनाश गरेको यो सानो सहर पन्ध्र वर्ष पुग्दा नपुग्दै फेरि जुरुक्क उठेको छ। यहाँका मानिसहरू उक्त घटनामा लागेका घाउहरूमा लागेका टाटा हेर्दै कहिले काहीँ टोलाउँदा हुन् र फेरि नयाँ सुरुवात गर्दा हुन्। २६९८ जना को ज्यान जाने गरी भूकम्प गएको यस ठाउँले त्यसपछि रूप नै फेरेको रहेछ। यसमा सङ्घ सरकार देखि त्यहाँको स्थानीय सरकारले गज्जबको काम गरेको देख्न सकिन्छ।

सहरको मुटुमै उभिएका छन् तिब्बती लोककथाका चर्चित राजा कसार। घोडामाथि चढेर निकै शक्तिशाली आँखाले हेरिरहेका उनका आँखा नियाल्दै कस्तो दुई किसिमका भावना महसुस मैले त। एक उनका आँखामा क्रोध देखिन्थ्यो जो शायद उनको अनुमति विना उनको क्षेत्र प्रवेश गर्ने दुस्मनका लागि हुन सक्थ्यो भने अर्को उनका आँखामा कोमलता पनि देख्न सकिन्थ्यो जो अहिलेका युशु वासीले आफ्ना आँखामा बोकेर हिँड्ने गर्दछन्। ऊ बेला सारा तिब्बतका फिरन्ते जीवन बिताइरहेका आदिवासीहरूलाई समेटेर एउटा एकीकृत राज्य बनाएका राजा कसारको युद्धकला, ज्ञान, सिप र कौशलका कथाले मैले चाहिँ हाम्रा पृथ्वी नारायणलाई पनि अन्तर हृदयमा कतै सम्झिरहेँ। इतिहासको कुनै कालखण्ड यस्ता हुँदा रहेछन् जसलाई सही र गलत भन्दा पनि इतिहासका रूपमा हेरिदिए अझ गज्जब भइदिने।

युशुकै मानिसहरूमा फर्कौँ, उनीहरू एकदमै स्वागत गर्ने किसिमका मानिसहरू रहेछन्। त्यहाँका मानिसहरू नेपाल प्रति अझ बढी भावुक र सामीप्य बढाउन प्रयास गर्ने खालका रहेछन्। हामी बाटोमा हिँड्दै गर्दा उनीहरूले मुस्कुराएर गर्ने नमस्तेले मलाई भने निकै प्रभाव पारेको थियो। निपोरन(नेपाली) हो ? भनेर जिज्ञासा मूलक अनुहार बनाएर नजिकिने उनीहरूको शैलीले उनीहरू प्रति मेरो नस्दिकि अझै बढाइदियो। उनीहरूको अनुहारमा कस्तो सहजता, कस्तो निर्दोषपना, कस्तो सरलता अनि कति गाम्भीर्य । साँच्चै युशुका मानिसहरूको जति बयान गरे पनि नपुग्ने रहेछ।

त्यहाँको साङ्ग गाउँ घुम्ने अवसर पनि जुर्‍यो। त्यहाँ १४ घरधुरी रहेछन्। सबै नेपालको होमस्टे शैलीमा बनेका। बाहिरबाट निकै पारम्परिक शैलीमा निर्माण भएका भने भित्र छिरी सके पश्चातको संसार नै अर्को खालको अनुभव हुने। त्यहाँ एउटा परिवार आएर आफ्नो छुट्टी बिताउन सक्ने पनि त्यहाँका गाउँले हरूले बताएका थिए। जलकृडास्थल, तीन ठुला ठुला नदीको उद्गमभूमी युशुलाई हेर्दा कता कति नेपालमै रहेको अनुभव हुने। त्यसैले दक्षिण एसिया नेटवर्क टी भी की प्रमुख कार्यकारी अधिकृत रमिला गौतमले भन्नु भएको होला "मलाई त साँच्चै आफ्नै घर आएको अनुभव भयो।" साँच्चै मलाई पनि कोही आफ्नैको घरमा गएको महसुस भयो।

ठुला ठुला घाँसे मैदान, तिनकै छेउमा टुमुक्क परेर उभिएका मध्यम उचाइका पहाडहरू जसको शरीर भरि बुट्यानले जरा गाडेका थिए। हेर्दा त साँच्चै स्वर्गको एक टुक्रा जस्तो नै देखिएको हो युशु । युशु सरकारले बनाएका सङ्ग्रहालय अवलोकन गर्दा देखेका सुन्दर चिज हरूले मन निकै लोभ्याएको थियो। त्यहाँका मानिसहरूले मूर्ति पनि यसरी कुँदेका थिए कि लाग्थ्यो यिनले एकै छिनमा हामी सङ्ग बात मार्छन्। सङ्ग्रहालयको कतै कुनामा नेपाली लिच्छवी उल्लेख भएको देख्दा यसै यसै मन प्रफुल्लित भएर आयो। भूकम्पमा भत्किन आँटेको घर सजिएर बसेको छ जसले सम्झाउँदो हो सन् २०१० अप्रिल १४को त्यो कालो बिहान जसले उनीहरूलाई त नमिठो सपना दियो दियो हामी यती पछि जानेहरूलाई पनि नरमाइलो लाग्ने गराउँदो छ। त्यहाँ भएका स्मारकहरूले पनि त्यो कहालीलाग्दो घटना बाट उठेको युशुको सौन्दर्यलाई विशेषणको काम गरिरहेका थिए।

सडकका छेवैमा चरिरहेका चौँरी र घोडाहरूलाई थिएन कसैको परवाह, सहरको छेवैमा बगिरहेकी पाचे खोलालाई न थियो कसैको मतलब र बगिरहेकी थिइन् निश्चल, अनि कञ्चन पानी लाई याङ्जे नदीमा मिसाउन। मानिसहरू विदेशको सफा रोड, चिल्ला गाडी देखेर खुसी हुने ठाउँमा मैले अनुभव गरेको युशु भने शान्त थियो, मानिसहरू सुन्दर रहे अनि आत्मीयता सदाबहार रहने भयो। सहरको कोलाहल छोडेर केही शान्त समय बिताउने तर हरेक सुख सुविधा अनुभव गर्न चाहने त्यसमाथि सरल र निर्दोष मानिसहरू साथमा रहन चाहने हर कोहीको रोजाईमा पर्न सक्ने यो युशु ठाउँले मेरो मस्तिष्कमा एउटा अविस्मरणीय छाप छोड्ने भयो। मेरो पहिलो विदेश भ्रमणले मलाइ धेरै कुरा सिकायो अनि धेरै सुन्दर ठाउँ पुर्‍यायो। युशु ! तिमी साँच्चै स्वर्गको एउटा टुक्रा हौ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर