एस् ए टी भी २५ साउन २०८२, काठमाडौँ: लमजुङ जिल्लाको भुलभुले स्थित माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाले यही साउन २३ गते साँझ ८ बजे आफ्नो उत्पादनको तीन अर्ब किलोवाट आवर (घण्टा) बिजुली राष्ट्रिय प्रसारण लाइनमा प्रसारण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सन् २०१६ मा उत्पादन सुरु गरेको स्वदेशी तथा विदेशी संयुक्त लगानीमा सञ्चालित यस आयोजनाले उक्त उपलब्धि हासिल गरेको हो। सिनो-हाइड्रो सगरमाथा पावर कम्पनीको प्रत्यक्ष लगानी रहेको आयोजनाले राष्ट्रिय विद्युत् प्रसारणमा विद्युत् विस्तार बाहेक स्थानीयलाई रोजगार उपलब्ध गराएको छ।
यस उपलब्धिको अवसर पारेर तथा नेपाल र चीन बिचको मैत्रीपूर्ण सम्बन्धको सात दशक पुगेको अवसरमा दक्षिण एसिया नेटवर्क टेलिभिजनले यस आयोजना सम्बन्धी समाचार तयार पारेको हो। नेपालमा रहेका चिनियाँ लगानी रहेका यस्ता उद्यम तथा उत्पादन क्षेत्रले नेपाल र चीनको सम्बन्धलाई अझ माथिल्लो स्तरमा पुगाउने विश्वास लिइएको छ।
आयोजनाको उत्पादन प्रविधि विभाग प्रमुख तोङ चियाङ्पोले तीन अर्ब किलो वाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको स्पष्ट पारे। उनले आयोजनाको संक्षिप्त विवरण एस् ए टी भीलाई पेस गर्दै उनले यस आयोजनाले नेपालको ऊर्जा क्षेत्रमा गतिलो योगदान दिएको पनि स्पष्ट पारे।
मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ सङ्ग गरिएको कुराकानीमा उनले माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको यस उपलब्धिमा बधाई ज्ञापन गरे। उनले स्थानीय जनतालाई रोजगारी, विद्युत् लगायतका सेवा सुविधामा पाएको सुविधा प्रति पनि कृतज्ञता प्रकट गरे।उनले यस आयोजनाले यस गाउँपालिकाको प्रवर्धनमा पारेको सकारात्मक असरको बारेमा पनि चर्चा गरे।
आयोजनाले पछिल्लो आठ वर्षमा सुरक्षा तथा उत्पादनका दृष्टिले निकै सबल कार्य सम्पन्नता देखाएको छ। वार्षिक ३ करोड ३५ लाख किलोवाट आवरको विद्युत उत्पादनको अपेक्षा भन्दा माथि उठेर आयोजनाले ३ करोड ७३ लाख किलोवाट आवर विद्युत उत्पादन गरी रहेको पनि सम्बन्धित अधिकारीले जनाए।
"यस परियोजनाले ‘उज्यालो नेपाल’ योजना पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ, पूर्वाधार विकास, रोजगारी सिर्जना र पानी स्रोतको अधिकतम उपयोगमार्फत स्थानीय र राष्ट्रिय स्तरमा लाभ पुर्याएको छ।" माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजना सरोकार तथा समन्वय समीतीका प्रवक्ता नवीन राज कुइँकेलले एस् ए टी भी सङ्ग बताए।
दक्षिण एसिया नेटवर्क टेलिभिजनसँगको कुराकानीमा आयोजनाकी मानव संसाधन विभागमा काम गर्दै आएकी सुस्मीता शाहीले आयोजनाले सकेसम्म स्थानीय जनतालाई नै रोजगारी उपलब्ध गराउने गरेको उल्लेख गरिन्। इमानदारिताका साथ काम गरे अनि काम प्रति प्रतिबद्धता रहेमा चिनियाँ कम्पनीले औसत भन्दा राम्रो सेवा र सुविधा प्रदान गरेर काम गर्ने वातावरण बनाइदिने उनले बताइन्।
बिआर आई परियोजनाकै पाटोको रूपमा हेरिएका यस्ता प्रकारका आयोजनाको सफल परिचालनले नेपाल तथा चीनको साझा भविष्य सम्बन्धी अवधारणालाई सहयोग पुर्याउँदछन्। विभिन्न बाधा व्यवधानहरूलाई पन्छाउँदै अघि बढिरहेको चिनियाँ लगानीको यस आयोजना सुशासन र मित्रताको प्रतिबिम्ब बनेर उभिएको छ।