एस् ए टी भी २५ जेठ, काठमाडौंः इस्मा गाउँपालिका–६ अमरपुरको बुल्मका ९० वर्षीय दल बहादुर कुमाल माटाका भाँडा बनाउने पुरानो कालिगड हुनुहुन्छ । त्यो उमेर र जोसमा डोकाभरी माटाका भाँडा बोकेर हप्ता दिन डुल्न सकिन्थ्यो । तत्कालीन समयमा दुई दिन हिँडेर भार्से पुगेपछि डोकाभरिका भाँडा बेच्दा रुप्पे पैसा पर्ने दल बहादुरले स्मरण गर्नुभयो । गाउँ भरी आरी, हाँडी, सुल्फा, घैँटा, पैनी, चिलिम लगायतका सामग्री बिक्थे ।
गाउँमा पैसा नहुनेले सामानको प्रकृतिका आधारमा अन्न दिन्थे । ‘आँखै अगाडी जमान कहाँबाट कहाँ गए । डोकाभरी भाँडा बोकेर हप्तादेखि हिँड्दा पनि ज्यान कसक्क हुन्थेन,’उहाँले भन्नुभयो,‘त्यो पुस्ता र समय अहिले छैन ।’ अमरपुर बुल्म जिल्लामा सबैभन्दा धेरै कुमाल समुदायको बसोबास भएको ठाउँ हो । उनीहरूको पुर्ख्यौली पेसा माटोका भाँडा बनाउने हो । माटोका भाँडा बनाउने अधिकांश पुरानो पुस्ता अहिले जीवित छैन । यो पेसाप्रति युवाहरूमा चासो छैन ।
गाउँमा ९० प्रतिशत युवाहरू रोजगारीको लागि परदेश छन् । माटोकै काममा समृद्धिको सपना बुनेर गाउँमै बसेका दुर्लभ मध्येका युवा २७ वर्षीय पदम बहादुर मुखिया हुनुहुन्छ । माटोमा सीप भर्न सके बजार राम्रो छ । बुल्ममा व्यावसायिक रूपमा माटोका सामग्रीहरूको उत्पादन र बिक्री वितरणको नेतृत्व पदमले गर्नुभएको छ । कुमाल समुदायको पेसा हराउँदै गएपछि आर्थिक ०७०-०७१ सालमा नेपालमै पहिलो सेरामिक्स वस्तु विकास केन्द्र सञ्चालन गरिएको थियो ।
स्थानीय तहपछि वुल्म प्रगतिशील आमा समूह मार्फत पदमले सेरामिक्समा माटोका सामग्रीहरूको उत्पादन, बजारीकरण तथा संस्थाको व्यवस्थापकीय काम गर्नुभएको छ । सेरामिक्स वस्तु विकास केन्द्र स्थापना भएपछि गाउँमै धेरैलाई माटोका भाँडा बनाउने तालिम प्रदान गरिएको थियो । सोहि तालिमपछि तीन जना युवाहरू पदमसहित आले कुमाल र खुम बहादुर कुमालले माटोका सामग्री दैनिक उत्पादन गर्नुहुन्छ । सेरामिक्समा ८०÷९० प्रकारका सामग्री उत्पादन हुन्छन् ।
नियमित काम गरे मासिक ४०-५० हजार आम्दानी हुने मुखियाले बताउनुभयो । जमनामा आफैले चर्खा घुमाउनुपर्ने अवस्था थियो । बिस्तारै बिजुलीबाट चल्ने चर्खा र भट्टी भित्रियो । जसले काममा सहजीकरण गरेको छ । ‘मैले माटोमा आफ्नो भविष्य देखेको छु । कुमाल समुदायको पुर्ख्यौली सीप आफैले जिल्लाभित्र र बाहिर पनि बाँडिरहेको छु,’उहाँले भन्नुभयो,‘काम गर्न सके कमाई पनि राम्रो छ ।
बुल्मको सेरामिक्सको विकासको लागि स्थापनाकालदेखिमै घरेलु तथा साना उद्योग कार्यालयले सहयोग गर्दै आएको छ । भने स्थानीय तह इस्मा गाउँपालिकाले ०७७ सालमा घेराबारको लागि १५ लाख सहयोग गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले धेरै पटक सीप र उपकरणमा सहयोग गर्दै आएको छ । कुमाल समुदायको पहिचान र सीपसँग जोडिएको विषय भएकाले मागका आधारमा आफूहरूले सहजीकरण गर्ने घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताउनुभयो ।