
काठमाडौँ, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो।
नियमिततर्फ १८ सय ५५ छात्र र १८ सय ७३ छात्रा गरी तीन हजार ७२८ परीक्षार्थी रहेका छन्। तीमध्ये अंग्रेजी विषयको परीक्षामा १३ छात्र र २६ छात्रा गरी ३९ जना अनुपस्थित रहेका छन्, प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो।
ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६३० परीक्षार्थी रहेका छन्। यसतर्फ अंग्रेजी विषयको परीक्षामा ६ छात्र र १० छात्रा गरी १६ जना अनुपस्थित रहेकाले कुल १५७ जना सहभागी भएका छन्।
अनुपस्थित हुनुको प्रमुख कारण बेरोजगारी रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। उहाँका अनुसार बैतडीका धेरै युवायुवती रोजगारीको खोजीमा भारततर्फ जाने भएकाले परीक्षा फाराम भरे पनि वास्तविक परीक्षामा सहभागी हुन नसकेको अवस्था छ।
त्यसैगरी कम उमेरमै विवाह गरेर अन्यत्र बसाइँ सर्ने, पारिवारिक र सामाजिक कारणले स्थानान्तरण हुने जस्ता अवस्थाले पनि परीक्षार्थीको सहभागिता घटाएको अवस्थीले जानकारी दिनुभयो। यस्ता विभिन्न कारणले हरेक वर्ष एसइईमा अपेक्षित उपस्थिति कम देखिने गरेको उहाँले उल्लेख गर्नुभयो।
प्राविधिक धारामा १०८ छात्र र ९७ छात्रा गरी २०५ परीक्षार्थी रहेका छन्। यसतर्फ एक छात्र अनुपस्थित रहेको छ। प्राविधिक धाराका विद्यार्थीका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
नियमित र ग्रेडवृद्धि धाराका परीक्षार्थीका लागि जिल्लाभर २५ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ। यस वर्ष बैतडीमा कुल ४,५५१ परीक्षार्थी सहभागी भएका छन्। अवस्थीका अनुसार जिल्लाभर एसइई परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन भइरहेको छ।





