
तनहुँ, चैत ३० गते । तनहुँ जिल्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य पूरा भएको छ । छिटो, व्यवस्थित र मर्यादित रूपमा परीक्षा सम्पन्न गर्ने सरकारी लक्ष्यअनुरूप जिल्लाका २२ वटै परीक्षा केन्द्रमा सुरु गरिएको उत्तरपुस्तिका परीक्षण कार्य तोकिएको समयमै पूरा भएको हो ।
शिक्षा विकास तथा समन्वय ईकाइ तनहुँका सूचना अधिकारी भरत बरालका अनुसार, जिल्लाभरका सबै परीक्षा केन्द्रहरूमा अत्यन्तै सावधानी, निष्पक्षता र पारदर्शी तवरले उत्तरपुस्तिका जाँच्ने कार्य सम्पन्न गरिएको छ । उहाँले भन्नुभयो, “परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने सरकारी नीतिअनुसार हामीले शिक्षक तथा विषय विज्ञहरूलाई परिचालन गरेका थियौँ। सबैको सक्रियता र तोकिएको सुरक्षा प्रबन्धका कारण कुनै पनि प्रकारको अवरोधबिना नै परीक्षण कार्यले पूर्णता पाएको छ ।”
परीक्षालाई मर्यादित बनाउन प्रत्येक केन्द्रमा विषयगत शिक्षक र सम्परीक्षकको व्यवस्था गरिएको थियो । जाँच्ने र जाँचेको पुनः जाँच्ने (रि–चेकिङ) प्रक्रियालाई समेत कडाइका साथ पालना गरिएको इकाइले जनाएको छ । यस वर्ष तनहुँबाट ६ हजार १५५ परीक्षार्थी एसइईमा सहभागी भएका थिए। नियमिततर्फ ४ हजार ९४० र ग्रेडवृद्धितर्फ १ हजार २१५ जना परीक्षार्थीका लागि जिल्लाका १७४ सामुदायिक तथा संस्थागत विद्यालयहरू समेटिने गरी २२ वटा केन्द्र तोकिएको थियो ।
यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले मूल्याङ्कन प्रक्रियामा थप विश्वसनीयता र स्पष्टता आएको सूचना अधिकारी बरालको भनाइ छ । विद्यार्थीले वर्षभरि गरेको मेहनतको सही मूल्याङ्कन होस् भन्ने उद्देश्यले शान्त र अनुशासित वातावरणमा परीक्षण कार्य सम्पन्न गरिएको इकाइले जनाएको छ ।





