
नेपालगन्ज, चैत ३० गते । नेपाल नेत्रज्योति संघ बाँके अन्तर्गत नेपालगन्जमा सञ्चालनमा रहेको फत्तेबाल आँखा अस्पतालले हालसम्म २९ लाखभन्दा बढी आँखा बिरामीको उपचार गरेको छ।
नेपाल नेत्रज्योति संघ बाँके शाखाका सभापति रतनकुमार टण्डनका अनुसार २०४३ सालमा स्थापना भएको उक्त अस्पतालले चार दशकको अवधिमा पश्चिम नेपाल तथा सीमावर्ती भारतीय जिल्लाका २९ लाख २९ हजार ५६३ आँखाका बिरामीको उपचार गरेको हो।
उहाँका अनुसार सो अवधिमा दुई लाख ९१ हजार ५३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने अन्य बिरामीको आँखा परीक्षण गरी औषधी, चस्मा तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको छ।
पश्चिम नेपाल मात्र नभई सीमापारिका भारतीय जिल्लाहरूमा समेत परिचित रहेको सो अस्पतालमा उपचार गराउनेमध्ये करिब आधा बिरामी भारतीय नागरिक रहेको नेपाल नेत्रज्योति संघ बाँके शाखाका सचिव शान्ति श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै एक लाख ३७ हजार ७३१ जनाको आँखा परीक्षण गरिएको तथा नौ हजार ७८८ जनाको आँखाको शल्यक्रिया गरिएको थियो।
अस्पतालका प्रमुख स्वास्थ्य निर्देशक डा. देवराज भारतीका अनुसार अस्पतालले आँखासम्बन्धी सबै प्रकारका रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आएको छ। उहाँका अनुसार जलबिन्दुको शल्यक्रिया, न्यून दृष्टि परामर्श, मोतिबिन्दु शल्यक्रियापछि देखिने जालीको लेजर उपचार, फेको प्रविधिबाट मोतिबिन्दु शल्यक्रिया, तथा डेढो आँखाको प्रमुख शल्यक्रिया सेवा उपलब्ध छ।
त्यस्तै इन्ट्रोपियन, आँखामा मासु पलाउने समस्या, आँखाको नानी मर्मत, बालबालिकाको आँखा उपचार, बन्द अश्रुनलीको शल्यक्रिया तथा उपचार, दृष्टिपर्दा सम्बन्धी शल्यक्रिया र एभास्टिन इन्जेक्सन सेवा लगायत रेटिना तथा अकुलोप्लास्टिसम्बन्धी विशिष्टीकृत सेवाहरू पनि प्रदान गरिँदै आएको उहाँले बताउनुभयो।
दस शय्या क्षमताबाट सुरु भएको उक्त अस्पतालमा हाल २५० शय्या रहेको छ। बर्दियामा यसका चार वटा उपकेन्द्रहरू पनि सञ्चालनमा छन्। साथै, अस्पतालको नवनिर्मित शल्यक्रिया भवनमा पाँच वटा मोडुलर शल्यक्रिया कक्ष निर्माण भइरहेको छ।
नेपालमा आँखा उपचारसम्बन्धी दक्ष प्राविधिकको कमी पूर्ति गर्न तथा सेवा विस्तारका लागि सीटीईभीटीको सम्बन्धनमा कलेज अफ अप्थाल्मिक हेल्थ साइन्स सँगको सहकार्यमा गत १२ वर्षदेखि नेत्र सहायक स्तरको तीन वर्षे शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।
आगामी दिनमा स्नातक र स्नातकोत्तर तहका कोर्स बी. अप्टोमेट्री र एम. अप्टोमेट्री सञ्चालन गर्ने प्रयास भइरहेको प्रमुख स्वास्थ्य निर्देशक डा. भारतीले बताउनुभयो।





