
पाख्रीबास (धनकुटा), वैशाख ४ गते । पूर्वी पहाडमा सांस्कृतिक तथा कलात्मक गतिविधि विस्तार गर्ने उद्देश्यसहित धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ आयोजना हुने भएको छ । शुक्रबार आयोजक टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर, धनकुटाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको फाइनल वैशाख ५ गते धनकुटाको तल्लो टुँडिखेलमा हुने जानकारी दिएको हो ।
स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामार्फत विशेषगरी ग्रामीण भेगमा लुकेका प्रतिभा पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
गायनतर्फ प्रथम हुनेले पाँच लाख रुपियाँ नगदसहित सोही बराबरको जीवन बिमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख र ५० हजार रुपियाँसहित अन्य सुविधा पाउनेछन् ।
नृत्यतर्फ भने दुई उमेर समूहमा पुरस्कार वितरण गरिनेछ—१२ वर्षमुनि र १२ वर्षभन्दा माथि । दुवै समूहमा प्रथम हुनेले जनही दुई लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
गत असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट ६ सय जनाले सहभागिता जनाएका थिए । प्रारम्भिक चरणमा ४ सय ३० जना सहभागी भएका थिए । मेघा अडिसनपछि छनोट भई ३१ जना प्रतिभा अन्तिम चरणमा प्रवेश गरेका छन् । जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहेका कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितालाई केवल प्रतिस्पर्धामा सीमित नराखी प्रतिभा विकास, अवसर सिर्जना र सांस्कृतिक संरक्षणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको छ । प्रतियोगिताले पर्यटन प्रवर्धन र स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन पनि सहयोग गर्ने अपेक्षा गरिएको छ ।
निर्णायक मण्डलमा नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बु र दीपेश मगर रहनुभएको छ भने गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती र महेश राईले मूल्याङ्कन गर्नेछन् ।
यस वर्षको प्रतियोगितामा कलाकार डिजी राज पौडेल र ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का प्रतियोगी विराट तामाङको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले २०७३ सालदेखि पूर्वाञ्चल डान्सिङ सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८० र २०८१ मा ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ प्रतियोगिता सम्पन्न गरिसकेको छ ।





