
एस ए टि भी, वैशाख १३ गते । त्रिभुवन विश्वविद्यालय कन्फ्युशियस ईन्ष्टिच्युटको आयोजना र नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, काठमाडौँ विश्वविद्यालय कन्फ्युशियस इन्स्टिच्युट, एलआरआई कन्फ्युशियस कक्षा तथा चाइना साउदर्न एयरलाइन्सको सहआयोजनामा "चिनियाँ भाषाः रंगीन सपनाहरु उज्यालो बनाऔं" भन्ने उद्घोषका साथ सातौं अन्तराष्ट्रिय चिनियाँ भाषा दिवस समारोह काठमाण्डौंमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपालस्थित चिनियाँ राजदुतावासका महामहिम राजदुत चाङ माउ मिङ्गले लामो समयदेखि नेपालमा चिनियाँ भाषा शिक्षामा समर्पित भई नेपाल चीन सांस्कृतिक आदान प्रदानलाई प्रगाढ बनाउने तथा सभ्यताहरुबीच पारस्परिक समझदारीलाई सुदृढ गर्ने सबै महानुभावहरुप्रति उच्च सम्मान व्यक्त गर्नुहुँदै धन्यवाद ज्ञापन गरे ।
सम्बोधनकै क्रममा उनले, चीन र नेपाल भौगोलिक रूपमा जोडिएका र ऐतिहासिक मित्रराष्ट्रहरूका बीच भाषा र सांस्कृतिक आदान-प्रदान सम्बन्धको सबैभन्दा न्यानो र दीर्घकालीन आधार रहेको बताउदै नेपालका कन्फ्युसियस इन्स्टिच्युटहरू, चिनियाँ सांस्कृतिक केन्द्र तथा करिब सय स्थानीय विद्यालयहरूले गुणस्तरीय चिनियाँ भाषा शिक्षा प्रदान गर्दै शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको बताए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक आर्यालले सम्बोधन गर्दै नेपालस्थित चिनियाँ राजदूतावास लगायत चिनियाँ विश्वविद्यालयहरूको त्रिभुवन विश्वविद्यालयसंग वैज्ञानिक अनुसन्धान, शैक्षिक तथा सांस्कृतिक सहकार्यप्रतिको निरन्तर प्रतिबद्धताको प्रशंसा गरे । त्रिभुवन विश्वविद्यालयले ज्ञान प्रवाहसँगै विभिन्न संस्कृतिबीच बौद्धिक पुल निर्माण गर्ने जिम्मेवारी बोकेको उल्लेख गर्दै चिनियाँ भाषा शिक्षासँग विश्वविद्यालयको सम्बन्ध सन् १९६१ देखि नै सुरु भएको स्मरण गरे । त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना भएपछि भाषा अध्ययन, सांस्कृतिक आदानप्रदान तथा शैक्षिक सहकार्य अझ व्यवस्थित रूपमा अघि बढेको र हाल करिब ७०० विद्यार्थीले काठमाडौं उपत्यकादेखि पोखरासम्म फैलिएका १४ शिक्षण केन्द्रमार्फत चिनियाँ भाषा अध्ययन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिनेक्रममा त्रिभुवन विश्वविद्यालय कन्फयुसियस ईन्ष्टिच्युटका चिनियाँ पक्षका निर्देशक चाङ शिन नियनले त्रिभुवन विश्वविद्यालय कन्फयुसियस ईन्ष्टिच्युट "शून्य" बाट "अस्तित्व” सम्मको चार वर्षे यात्रा सफलतापूर्वक पूरा गरेको जनाउँदै, यस छोटो अवधिमा त्रिभुवन विश्वविद्यालयमा चिनियाँ भाषा शिक्षालाई व्यापक बनाउँदै चीन-नेपाल मित्रताको इतिहासमा नयाँ आयाम थपेको उल्लेख गरे ।
उनले चिनियाँ भाषा अन्तर्राष्ट्रिय सम्पर्कको प्रभावकारी माध्यम बन्दै पर्यटन, व्यापार तथा शैक्षिक सहकार्यलाई सुदृढ बनाइरहेको उल्लेख गरे, चिनियाँ भाषा सिक्नु केवल भाषा ज्ञान प्राप्ति मात्र नभई नयाँ अवसर र सम्भावनाको ढोका खोल्ने माध्यम भएको धारणा व्यक्त गरे । साथै, त्रिभुवन विश्वविद्यालय कन्फयुसियस ईन्ष्टिच्युटले आगामी दिनमा "भाषा शिक्षा, संस्कृति प्रवर्द्धन र आदान-प्रदान" लाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

त्रिभुवन विश्वविद्यालय कन्फ्युशियस इन्स्टिच्युटका नेपाली पक्षका निमित्त निर्देशक बलराम दुवालले समारोहमा चिनियाँ भाषा शिक्षक तथा विद्यार्थीहरूको मनमोहक प्रस्तुतीले कार्यक्रमलाई अझ आकर्षक बनाएको उल्लेख गर्दै उनले त्रिभुवन विश्वविद्यालय कन्फ्युशियस इन्स्टिच्युटले छोटो अवधिमै चिनियाँ भाषा शिक्षाको प्रवर्द्धन र नेपाल-चीन सांस्कृतिक आदान-प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा चिनिया तथा नैपाली गीत-संगीत, नृत्य, थाइ-ची, कविता वाचन, नाट्य प्रस्तुति तथा सुलेखन, कागज काट्ने कला र चिनियाँ चिया संस्कारजस्ता गतिविधिहरूमार्फत चिनियाँ भाषा र संस्कृतिको विविधता जीवन्त रूपमा प्रस्तुत गरिएको थियो ।

अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवसले चिनियाँ भाषालाई मात्र होइन, नेपाल–चीन साझा सांस्कृतिक सम्पत्ति र बहुआयामिक सहकार्यको पुलको रुपमा स्थापित गरिदिएको छ। भाषाको यो उत्सवले युवा पुस्तालाई नयाँ सपना देख्न प्रेरित गर्दै दुई देशबीचको सौहार्दता र आपसी विश्वासलाई अझै गहिरो बनाउने विश्वास लिइएको छ।





