
काठमाडौँ, जेठ ६ गते । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ३६ जना गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स (नाम दर्ता किताब) बाट नाम हटाउने निर्णय स्थगित गरेको छ । काउन्सिलको गत २९ वैशाखमा बसेको पूर्ण बैठकले यसअघि गरिएको नाम दर्ता खारेजसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । अब सम्बन्धित चिकित्सकको नाम दर्ता किताबमा यथावत् रहने छ ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले विदेशमा रहेका नेपाली मूलका चिकित्सकलाई अब गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकको सूचीमा दर्ता हुन आह्वान गरिने बताउनुभयो । उहाँले गैरआवासीय चिकित्सकका रूपमा विधिवत् नाम दर्ता भएपछि मात्र उनीहरूको नाम नेपाली चिकित्सकको मूल दर्ता किताबबाट स्वतः हट्ने जानकारी दिनुभयो ।
यसअघि नाम खारेज गर्ने विषयमा सूचना जारी गरिएको थियो । “अहिले उक्त निर्णय कार्यान्वयन नगर्ने निर्णय गरिएको हो,” डा. पाण्डेले भन्नुभयो, “विदेशमा रहेका गैरआवासीय नेपाली चिकित्सकलाई गैरआवासीय लाइसेन्स लिन आह्वान गरिने छ ।”
यसअघि काउन्सिलले दुई पटक सार्वजनिक सूचना जारी गर्दै विदेशी राहदानी प्राप्त गरेका ३६ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाइएको जानकारी दिएको थियो । उक्त निर्णयप्रति विदेशमा कार्यरत नेपाली चिकित्सकले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए ।
काउन्सिलको २०८२ भदौ १२ गते बसेको पूर्ण बैठकले नेपाली नागरिकता त्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार विदेशी राहदानी लिएका चिकित्सकलाई एक पटकका लागि ‘गुड स्ट्यान्डिङ’ प्रमाणपत्र उपलब्ध गराएपछि नाम दर्ता सूचीबाट हटाइने व्यवस्था गरिएको थियो ।











