
दमक, जेठ ६ गते । झापाको हल्दीबारी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हल्दीबारी–५ धनुषपोखरी नजिक गएराति गोकर्ण भनिने गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार खड्काले जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरेर घर फर्किएका गणेश र उर्मिलाबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा भण्डारीले धारिलो हतियार प्रहार गरी विभत्स रूपमा हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरेपछि आफूले श्रीमतीको हत्या गरेको भन्दै छिमेकीलाई बताउँदै हिँडेका भण्डारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
मृतक उर्मिलाका एक छोरा र एक छोरी रहेका छन् । घटनामा संलग्न भण्डारीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।











