
कल्याणपुर (सप्तरी), जेठ ६ गते । सप्तरीको राजविराजस्थित एक संस्थागत विद्यालयले मनपरी रूपमा शुल्क असुलेको भन्दै अभिभावकहरूले विरोध जनाएका छन् । राजविराज नगरपालिका–३ स्थित ह्यापील्यान्ड सेकेन्डरी स्कुलले विभिन्न शीर्षकमा चर्को शुल्क उठाइरहेको आरोप लगाउँदै अभिभावकहरूले मंगलबार विद्यालयमै पुगेर विरोध गरेका हुन् ।
अभिभावकहरूले विद्यार्थीबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता नगरे विद्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् । अभिभावकका अनुसार विद्यालयले कक्षा ८ सम्मका विद्यार्थीबाट वार्षिक शुल्कका नाममा जनही पाँच हजार रुपियाँ तथा कक्षा ९ र १० का विद्यार्थीबाट छ हजार रुपियाँ असुलिरहेको छ ।
त्यस्तै परीक्षा शुल्कका नाममा प्रति विद्यार्थी दुई हजार रुपियाँ, मासिक शुल्कका रूपमा दुई हजार पाँच सयदेखि चार हजार एक सय रुपियाँसम्म तथा कम्प्युटर शुल्कका नाममा जनही तीन सय ५० रुपियाँ लिइएको गुनासो अभिभावकहरूको छ ।
अभिभावक दीपेन्द्र दासका अनुसार सरकारले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने र वैशाख २१ गतेबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको भए पनि विद्यालयले वैशाख १ गतेदेखि नै मासिक शुल्क जोडेर विद्यार्थीबाट रकम असुलेको छ ।
अभिभावक अशोक साहले वार्षिक परीक्षा हुन अझै एक वर्ष बाँकी रहँदा अहिले नै प्रति विद्यार्थी दुई हजार रुपियाँका दरले परीक्षा शुल्क लिन थालिएको गुनासो गर्नुभयो ।
विद्यालयले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तकसमेत प्रयोग गराएर अभिभावकमाथि आर्थिक भार थपेको भन्दै सम्बन्धित निकायसँग छानबिनको माग गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुर र सञ्चालक पुष्प सिटौलाले बुधबार बिहान अभिभावकसँग बृहत् बैठक राखेर समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवले वैशाख २१ गतेबाट मात्रै पठनपाठन सुरु भएकाले त्यसअघिको शुल्क लिन नमिल्ने बताउनुभयो ।
उहाँले नगरभित्रका विद्यालयको स्तरीकरण गर्ने काम अगाडि बढिसकेको जानकारी दिँदै केही महिनाभित्र निजी तथा संस्थागत विद्यालयको स्तरअनुसार शुल्क निर्धारण गरिने बताउनुभयो ।











