
काठमाडौँ, साउन ३० गते । श्रीलङ्काली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगीविरुद्धको कारबाही तीव्र पार्दै यस वर्ष हालसम्म २७ वटा अभियानमा एक हजार ९३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । सङ्गठितरूपमा सञ्चालन भइरहेका अनलाइन ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कारबाही अघि बढाएको प्रहरी प्रवक्ता एफयु वुटलरले बिहीबार बताउनुभयो ।
मिडिया सम्मेलनमा प्रवक्ता वुटलरले साइबर अपराध श्रीलङ्काका लागि प्रमुख सुरक्षा चुनौती बन्दै गएको बताउनुभयो । उहाँका अनुसार आपराधिक सञ्जालले श्रीलङ्का तथा विदेशमा रहेका व्यक्तिलाई लक्षित गर्न डिजिटल माध्यम, सामाजिक सञ्जाल र अनलाइन वित्तीय प्रणालीको प्रयोग बढाउँदै लगेका छन् ।
प्रहरीका अनुसार सन् २०२४ मा साइबर अपराधसँग सम्बन्धित २६ वटा कारबाहीमा ५७३ जना विदेशी नागरिक पक्राउ परेका थिए । सन् २०२५ मा भने यस्ता दुईवटा कारबाहीमा २६ जना विदेशी पक्राउ परेका थिए । यस वर्ष पक्राउ पर्ने विदेशीको सङ्ख्या अघिल्ला दुई वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको प्रहरीले जनाएको छ ।
प्रवक्ता वुटलरका अनुसार यस्ता आपराधिक सञ्जाललाई रोक्न र अनलाइन वित्तीय अपराध नियन्त्रण गर्न रक्षा मन्त्रालय तथा प्रहरी महानिरीक्षकको निर्देशनमा विभिन्न निकायबीच समन्वय गरी विशेष कारबाही सञ्चालन भइरहेको छ । कारबाहीका क्रममा पक्राउ परेका विदेशी नागरिकलाई निर्वासन गर्ने वा सम्बन्धित देशमा फिर्ता पठाउने प्रक्रिया पनि अघि बढाइएको उहाँले बताउनुभयो ।
श्रीलङ्काली प्रहरीले घरधनी, होटल सञ्चालक तथा व्यावसायिक भवनका मालिकलाई आफ्नो परिसर भाडामा लिन आउने विदेशी नागरिकको पहिचान तथा सम्बन्धित कागजात सावधानीपूर्वक जाँच गर्न आग्रह गरेको छ । विदेशी नागरिक भाडामा बस्ने वा भाडामा लिएको परिसरबाट बाहिरिने अवस्थामा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था रहेको प्रवक्ता वुटलरले बताउनुभयो ।
प्रहरीका अनुसार केही संदिग्ध साइबर अपराध सञ्जालले भाडाका घर, अपार्टमेन्ट, होटल तथा व्यावसायिक भवनलाई आफ्नो गतिविधि सञ्चालन गर्ने आधारका रूपमा प्रयोग गर्दै आएका छन् । त्यसैले यस्ता स्थानमा बस्ने विदेशी नागरिक तथा उनीहरूको गतिविधिबारे आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । श्रीलङ्काली प्रहरीले अनलाइन ठगी तथा वित्तीय अपराधमा संलग्न सञ्जालको पहिचान, नियन्त्रण र विघटनका लागि आगामी दिनमा पनि संयुक्त कारबाहीलाई निरन्तरता दिने जनाएको छ । रासस/सिन्ह्वा


















