
काठमाडौँ, साउन २८ गते । चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी पर्नुभएका उहाँको बुधबार बेइजिङमा निधन भएको हो । स्पष्ट अभिव्यक्तिका लागि चर्चित झुले चीनको अर्थतन्त्रलाई सुधार र खुलापनको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
सन् १९९१ देखि १९९८ सम्म उपप्रधानमन्त्री र त्यसपछि सन् २००३ सम्म प्रधानमन्त्री बन्नुभएका झुले चीनको आर्थिक र राजनीतिक परिवर्तनको महत्वपूर्ण समयको नेतृत्व गर्नुभएको थियो । बेइजिङस्थित प्रतिष्ठित छिङह्वा विश्वविद्यालयमा अध्ययन गर्नुभएका उहाँ सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको थियो । सांस्कृतिक क्रान्तिका बेला गाउँतिर पठाइएका उहाँ पछि राजनीतिक रूपमा पुनस्र्थापित भएपछि पार्टीको जिम्मेवारीमा क्रमशः माथि उठ्नुभएको थियो । उहाँ सन् १९८७ मा साङ्घाईको मेयर बन्नुभयो । उहाँको नेतृत्वमा साङ्घाईले विश्वव्यापी वित्तीय केन्द्र बन्ने दिशामा महत्वपूर्ण कदम चाल्यो । सन् १९९१ मा केन्द्रीय सरकारमा काम गर्न बेइजिङ पुग्नुभएपछि झुले चीनको आर्थिक सुधार तीव्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सोभियत सङ्घको विघटनपछि चीन पनि कमजोर हुन सक्ने भन्दै उहाँले चीनलाई तीव्र आर्थिक विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्नुभयो ।
प्रधानमन्त्री बनेपछि उहाँले धेरै सरकारी स्वामित्वका कम्पनी बन्द वा निजीकरण गर्ने र ठुलो सङ्ख्यामा कर्मचारी कटौती गर्ने सुधार अभियान अगाडि बढाउनुभयो । उहाँले कर उठाउने अधिकार स्थानीय सरकारबाट केन्द्र सरकारमा सार्न भूमिका निर्वाह गर्नुभयो । त्यस्तै आवास स्वामित्वसम्बन्धी सुधार अगाडि बढाउनुभयो, जसले चीनमा पछि तीव्र रूपमा विस्तार भएको घरजग्गा बजारको आधार तयार ग¥यो । झुको सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक चीनलाई विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को सदस्य बनाउनु थियो । लामो र कठिन वार्तापछि उहाँले सन् २००१ मा चीनलाई डब्लुटिओमा प्रवेश गराउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।


















