
काठमाडौँ, असार ९ गते । कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
अमेरिकाको डालास स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोलले हराउँदै नकआउट चरणमा स्थान बनाएको हो ।
अर्जेन्टिनाको जितमा दुवै गोल कप्तान मेस्सीले गर्नुभयो । मेस्सीले ३८औँ मिनेटमा फाकुन्डो मेडिनाको पासमा गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाउनुभयो ।
यस गोल उहाँको विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानी १७औँ गोल थियो । उहाँले यसअघिको खेलमा ह्याट्रिक गर्दै सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानसँग बराबरी गर्नुभएको थियो ।
यस खेलमा मेस्सीले क्लोजको कीर्तिमान भङ्ग गर्दै दोस्रो हाफको अतिरिक्त समयमा ब्यक्तिगत दोस्रो गोल गर्नुभयो । अब उहाँ विश्कपमा सर्वाधिक १८ गोल गर्ने पहिलो खेलाडी बन्नुभएको छ ।
यस्तै विश्वफुटबलमा कीर्तिमानको चाङ लगाउनुभएका मेस्सीले विश्वकपमा लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बन्नुभएको छ ।
कीर्तिमानी छैटौँ पटक विश्वकप खेलिरहनुभएका मेस्सीले अस्ट्रियाविरुद्ध सुरुवातमा पाएको पेनाल्टी भने मिस गर्नुभएको थियो । उहाँको प्रहार थोरै बाहिर परेको थियो ।
लगातार दोस्रो जितसँगै समूहको शीर्षस्थानमा रहेको अर्जेन्टिनाले ६ अङ्क बनाएको छ । पहिलो हार खेपेको अष्ट्रिया तीन अङ्कसहित दोस्रो स्थानमा छ । एजेन्सी

















