
काठमाडौँ, असार ६ गते । विश्वकप फुटबल प्रतियोगता–२०२६ मा नयाँ नायकका रूपमा क्यानडाका जोनाथन डेभिडको उदय भएको छ । डेभिडले ह्याट्रिक गरेपछि शुक्रबार सहआयोजक क्यानडाले एसिया च्याम्पियन कतारलाई ६–० ले नराम्ररी हरायो ।
न्युयोकमा जन्मेका डेभिडका आमाबुबा हाइटीका हुनुहुन्छ । डेभिड छ वर्षको हुँदा उहाँको परिवार क्यानडा सरेको हो । क्यानडामै उहाँले फुटबल सिक्नुभयो । अहिले उहाँकै प्रदर्शनले क्यानडाले विश्वकपमा पहिलो जित हासिल गर्न सफल भएको छ । यसै गरी डेभिडले गरेका तीन गोल विश्वकपमा क्यानडाको कुल गोलसङ्ख्या बराबर हो । यसअघि सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा क्यानडा तिनै खेलबिना गोल गरी हारेको थियो । सन् २०२२ को विश्वकपमा पनि क्यानडाले तीन खेलमा दुई गोल मात्र गरेको थियो । चालु विश्वकपको पहिलो खेलमा क्यानडाले बोस्निया हर्जगोभिनासँग १–१ ले बराबरीमा खेलेको थियो ।
कतारविरुद्ध ह्याट्रिक गरेर डेभिड सन् १९६६ मा ज्यौफ हस्टपछि विश्वकपमा घरेलु मैदानमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्नुभएको छ । यद्यपि यस विश्वकपअघि डेभिड टिममा पर्दा प्रशिक्षक जेसी मार्सको आलोचना भएको थियो । डेभिडले पछिल्ला चार अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सक्नुभएको थिएन । डेभिडले खेलको २९, पूर्वार्धको इन्जुरी समय र खेलको इन्जुरी समयमा गोल गरी विश्वकपमा ह्याट्रिकको गौरव हासिल गर्नुभएको हो । यस विश्वकपमा यो दोस्रो ह्याट्रिक भएको छ । यसअघि अर्जेन्टिनाका लियोनेल मेसीले पनि अल्जेरियाविरुद्धको खेलमा तीन गोल गर्नुभएको थियो । क्यानडाका लागि लारिन (१६ औँ मिनेट), स्थानापन्न खेलाडी नाथन सालिबा (६४ औँ मिनेट) ले पनि गोल गर्नुभयो । क्यानडालाई एक गोल आत्मघाती रूपमा प्राप्त भएको थियो । खेलको ७५ औँ मिनेटमा मोहम्मद मनाइले गोल बचाउने क्रममा आफ्नै गोलपोस्टमा बल छिराउनुभएको हो । कतार नौ खेलाडीमा सीमित हुँदा पनि क्यानडालाई फाइदा भएको हो । खेलको ३३ औँ मिनेटमा ताजोन बुचाननलाई लडाएपछि होमान अहमद र उत्तरार्धमा स्माइल कोनलाई नराम्ररी लडाएपछि असीम माडिबोले रातो कार्ड पाउनुभएको थियो । खुट्टा भाँचिएपछि कोनलाई स्ट्रचेरमा राखेर मैदानबाहिर लग्नु परेको थयो । जसले क्यानडाको जित अलि खल्लो भएको छ । एजेन्सी
















