नेभिगेसन मेनु

सुजनले छेडे चौथो पटक जिब्रो
सम्पादक:南亚网络电视
समय:2026-04-16 13:28

 

 jibro-chednayyy

भक्तपुर, वैशाख ३ गते । बिस्काः जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको छ । बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाउनुभएको थियो । 

जिब्रो छेड्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको मानिन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ । मध्यपुर ठिमी–२ मा रहेको गणेश मन्दिरअगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने गर्छन् । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्छन् । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकाल्ने गरिन्छ । 

कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो । उहाँको जिब्रो १० इन्च लामो फलामको सुईले छेडिएको थियो ।

नाइके कृष्णचन्द्र बाग श्रेष्ठले विधिअघि स्थानीय देवदेवीको विशेष पूजा गर्नुभएको थियो । जिब्रो छेड्ने व्यक्तिलाई विभिन्न बाजागाजासहित गणेश मन्दिरको आँगनमा ल्याएर सबैको उपस्थितिमा जिब्रो छेडिने काम भएको थियो । सो क्रममा ‘नथाखी’ नामक परम्परागत बाजा बजाइएको थियो । जिब्रो छेडेपछि श्रेष्ठले निगालोका १३ वटा लट्ठी प्रयोग गरेर बनाइएको अर्धचन्द्राकार महादीप बोकेर दुई–तीन घण्टासम्म बोडेका विभिन्न स्थानको परिक्रमा गर्नुभयो । 

बोडे क्षेत्रको परिक्रमा सकेपछि महालक्ष्मी मन्दिरमा सुई निकालिन्छ र जिब्रोको प्वाल मन्दिरकै माटोले पुर्ने गरिन्छ । उक्त सुई नृत्यनाथ मन्दिरको दाहिनेपट्टि रहेको गणेश मन्दिरको ढोकामा राखिन्छ । उक्त कार्यका लागि सुजनले तीन दिनसम्म पानी मात्र पिएर उपवास बस्नुभएको थियो र मासुजन्य खाना त्याग्नुभएको थियो । उक्त परम्परा उल्लङ्घन गरेमा जिब्रो छेड्दा अनिष्ट हुने विश्वास रहिआएको छ । प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलवाराही देवगणसँग सम्बन्धित रहेको छ ।

प्राचीनकालमा बोडेमा नीलवाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । उक्त कुरा थाहा पाएपछि तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महादीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको किंवदन्तीमा पाइन्छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर