
काठमाडौँ, चैत ९ गते । वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा जात्राबारे अभिलेखीकरण गर्ने उद्देश्यले निर्माण गरिएको ‘सेतो मत्स्येन्द्रनाथको रथयात्रा’ सम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आइतबार राजधानीमा आयोजित सेतो मत्स्येन्द्रनाथको रथयात्राको व्यवस्थापन सम्बन्धमा आयोजित बैठकमा सो वृत्तचित्र सार्वजनिक गरिएको हो ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ उपत्यकाका जीवन्त संस्कृति सम्पदा सेतो मत्स्येन्द्रनाथ जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्दै देशविदेशका कूटनीतिक नियोगका पदाधिकारीलाई दर्शन/भ्रमण गराउने व्यवस्थाका लागि सुरक्षा निकाय, जात्रा व्यवस्थापन समिति, स्थानीयको समेत सहकार्यले सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेतो मत्स्येन्द्रनाथको जात्रा सञ्चालनका क्रममा शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त बनाउन गृह मन्त्रालय र सबै सुरक्षा निकाय, स्थानीय र जात्रा व्यवस्थापन समिति र स्वयंसेवकको समन्वय हुने जानकारी दिनुभयो ।
इन्जिनियर आनन्द मानन्धरले विगत १० वर्षदेखि आर्किटेक्ट, इन्जिनियर समूहको टोलीले भक्तपुर, काठमाडौँलगायतका क्षेत्रमा सञ्चालन गरिने जात्राका लागि तयार गरिने रथ, खटदेखि जात्रा सञ्चालनको अवधिबारे स्केच, चित्र र भिडियो, फोटोको माध्यमबाट जात्रालाई अभिलेखीकरण गर्ने क्रममा सेतो मत्स्येन्द्रनाथको रथयात्राबारे पनि वृत्तचित्र तयार भएको जानकारी दिनुभयो ।
जात्रा अभिलेखीकरणका लागि ई. आनन्द मानन्धरका साथै अमित वज्राचार्य, सिजन शाक्य र सोना बाडेलगायतको समूहले भक्तपुरको बिस्का जात्रा, कुमारी, गणेश, चाँगुनारायणको वंशगोपाल रथलगायतको अभिलेखीकरण गरिसक्नुभएको छ । चैत १२ गते तीनधारा पाठशालाबाट सुरु भई असन, वसन्तपुर, लगन हुँदै मत्स्येन्द्रबहालमा समापन हुने वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्राका लागि रथ दरबारमार्गस्थित तीनधारा पाठशालामा निर्माण भइरहेको छ ।





