एस् ए टी भी ३० साउन २०८२, काठमाडौंः केही समयमा नेपालमा चाडबाड आइरहेका छन्। भदौ र असोज नेपालमा तीज, दसैँ, तिहार लगायतका पर्वहरूले उल्लास छर्ने महिना हुन्। तिनै पर्वहरूमा व्यापार व्यवसायले पनि मनग्य फाइदा लिने गरेका छन्। तिनै चाडबाडलाई लक्षित गरेर चीन बाट आयात गरेर सामग्री बेच्ने सिलसिला नेपालमा बढ्दो छ । यस वर्ष पनि त्यो धूम धामले चलिरहेको थियो।
एक्कासि २०८२ असार २४ गते अकस्मात् रसुवागढीमा गएको बाढीका कारण उक्त स्थानको मितेरी पुल लगायत करिब सम्पूर्ण संरचना नै ध्वस्त भयो। यसले दोहोरो आवतजावत नै ठप्प बनायो। दसैँ भित्र पुनर्निर्माण गरी सक्ने भनेर चिनियाँ पक्षले काम थालिसके पनि विभिन्न कारण पुर्ननिर्माण ढिलाई भई रहदाँ नेपालमा सामान आयात गर्ने व्यापारीहरूलाई भने निकै घाटा हुने अवस्था बनेको देखिएको छ। उक्त ठाउँबाट सामानका कन्टेनरहरूले अर्को नाका तर्फ मोडिन परेको छ। यसले ढुवानी खर्च मात्रै बढाएको छैन बरु झन्झट र असजिलो पनि त्यसै अनुसार बढाएको छ।
रसुवागढी नाका बन्द भए पछि तातोपानी नाका निकै व्यस्त देखिन्छ। साँघुरो सडकमा ठुला ठुला गाडीहरू कुदिरहेका छन्। चिनियाँहरूको खास प्रयोगमा नआएको तातोपानी नाका अहिले सामान ओसारपसार तथा धार्मिक यात्री दुवैको यात्रा गर्ने बाटो बनेको छ। हजारौँ कन्टेनरहरू सानो सडकमा लामबद्ध छन्।
मनसुन समय त्यसमाथि चाडपर्वको हतारोले सबैको मन कुँढिएको छ। व्यापारीहरू आफ्नो सामान समयमा आइपुग्ने नपुग्नेमा निश्चित छैनन्। उनीहरूका निधारमा चिन्ताका धर्सा स्पष्ट देखिन थालेका छन्। एक जना व्यापारीका अनुसार ६०० भन्दा बढी स्ट्यान्डर्ड कन्टेनर तातोपानी नाकामा छन् । केहि स्थानमा बाडीका कारण बाटो भत्किएको हुदा त्यहाँ बाट सामान ओसार्न मानवीय जनशक्ति प्रयोग भइरहेको छ। यसले ढुवानी समय अझै लम्बिइरहेको छ।
सामान समयमै नपुग्ने अनिश्चितताका कारण नेपाली व्यापारीहरूले ठुलो घाटा र विशेष गरी दसैँ किनमेलको मौसमका लागि तयार गरिएका रेडिमेड लुगा महँगो हुने डर व्यक्त गरेका छन्। नेपालको सबैभन्दा ठुलो चाडअघि चीनतर्फ केरुङ र खासामा रहेका अर्बौँ रुपैयाँका सामान—जसमा विद्युतीय सवारी साधन, लुगा, जुत्ता, गहना र उपभोक्ता इलेक्ट्रोनिक्स सामेल छन्—अड्किएका छन्।
भन्सार विभागका अनुसार, नेपालले आर्थिक वर्ष २०२३–२४ मा चीनबाट २९८.७७ अर्ब रुपैयाँको सामान आयात गरेको छ। विपरीत, चीनतर्फ निर्यात भने २.५८ अर्ब रुपैयाँ मात्र भएको छ, जसका कारण २९६.१८ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ।