एस् ए टी भी ०९ वैशाख, काठमाडौँः नेपाली ब्रान्ड र उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, विश्व अर्थतन्त्रसँग जोड्ने र हालको कमजोर नेपाली आर्थिक अवस्थालाई सुधार गर्ने उद्देश्यले, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले २०८२ साल बैशाख २५ गतेदेखि २९ गतेसम्म दशौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुने यो मेला देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रित छ। व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ, र नेपाल हस्तकला महासंघको सहआयोजनामा हुने यस मेलामा करिब २०,००० दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।
व्यापार मेला समिति अध्यक्ष उमेश डाल्मियाले यो कार्यक्रमलाई हालको आर्थिक अवस्था सुधारतर्फको एउटा महत्वपूर्ण पाइला भएको बताए। पत्रकारहरूसँगको कुराकानीमा उनले सरकारलाई भृकुटीमण्डप प्रदर्शनी केन्द्रलाई पुनःनिर्माण गर्न वा निजी क्षेत्रलाई बनाउन जिम्मा दिन सुझाव दिए, जसबाट विदेशी व्यापारीहरू सहज रूपमा नेपाल आउन सकून् र नेपाली उत्पादन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिने उनको भनाई थियो।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाईल्यान्ड लगायत विभिन्न देशहरूबाट करिब ३०० वा सो भन्दा बढी स्टलहरू रहनेछन्।
मेलामा चीनका व्यापारीहरूले ट्रान्समिसन उपकरण, इलेक्ट्रिकल्स र अटोमोबाइल्स, खाद्य तथा पेय पदार्थ, दूधजन्य पदार्थ, भान्सा जन्य सामान, तयारी पोशाक र स्मार्टवाचहरू प्रदर्शन गर्नेछन्। त्यसैगरी, पाकिस्तानबाट छाला तथा तयारी कपडाका स्टल रहनेछन् भने बंगलादेशबाट आएका तयारी पोशाकका स्टलहरूले पनि शक्तिशाली उपस्थिति जनाउनेछन्।
यस विशेष मेलाको अवसरमा ‘मेड इन नेपाल’ स्टलहरू, हस्तकला उत्पादनहरू तथा विभिन्न इभी (EV) सवारी साधनहरू पनि व्यापारमा रहनेछन्। मेलाको दौरान अन्तर्राष्ट्रिय खरिदकर्ताहरूसँग विशेष अन्तरक्रियात्मक सत्रको आयोजना गरिनेछ, जसले गर्दा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याउनेछ।
पछिल्ला हडताल तथा बन्दको कारण मेलाको आयोजनामा केही असर परे पनि ति समस्याको यथाशिघ्र समाधान गरी सरकारले सहजता बनाइदिनेमा आशावादी रहेको आयोजकले जनाए।