एस् ए टी भी ११ चैत्र,काठमाडौँः चीनबाट नेपाल सामग्री आयात तथा नेपाल बाट चीन निर्यात गर्ने उद्देश्यले युशु शान च्याङ युआन अन्तर्राष्ट्रिय कार्गो कम्पनीको एक कार्यक्रमको बिच भव्य उद्घाटन भएको छ।
उद्घाटन कार्यक्रममा पूर्व सूचना तथा प्रविधि मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय सांसद गोकुल बास्कोटा, नेपाल स्थित चिनियाँ ओभर्सिज एसोसिएसनका अध्यक्ष चिन स्याओ तोङ, नेपाल हस्तकला महासंघका प्रतिनिधि लगायत व्यक्तित्वहरूको उपस्थिति थियो।
यस कम्पनीको स्थापनाले चीन नेपाल द्विपक्षीय आदान प्रदानमा सकारात्मक असर पार्नेछ। "हामीले प्रायः आयात गरिरहेका छौँ अब निर्यातका बाटाहरू पनि बिस्तारै खोल्दै जानु पर्छ",माननीय बास्कोटाले भने। निर्यातको लागि समन्वयकारि भूमिका युशु शान च्याङ अन्तर्राष्ट्रिय कार्गोले खेल्नेमा उनले विश्वास व्यक्त गरे। उनले कम्पनीको कार्य सफलताको पनि कामना गरे।
छिङहाई प्रान्तको युशु सहरका उद्योग वाणिज्य महासंघका अध्यक्ष क चाले नेपाल अत्यन्तै सुन्दर देश रहेको बताउँदै युशु पनि सुन्दर दृश्यहरूको सङ्गम भएकाले नेपाली पर्यटकहरूलाई युशुमा स्वागतार्थ आफू बसिरहने बताए। सामग्री आदानप्रदान तथा पर्यटन प्रबर्धनमा यस संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो। यस प्रयासले दुवै तर्फका उत्पादनहरुको बजार बढ्ने बताउँदै उनले असल नियत र इमान्दारिताका साथ सञ्चालनमा आएको संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
नेपाल सरकार तथा चीन सरकारले तोकेका अवैधानिक बाहेक अन्य सम्पूर्ण सामग्रीहरू आयात तथा निर्यात गर्ने उद्देश्य रहेको संस्थाका प्रबन्धक तासी निमाले जनाएका छन्। "अब नेपालबाट चीन सामान पठाउनु परे र फेरि चीनबाट नेपाल सामान पठाउनु परे बिआरआइ सम्झौताको रोहवरमा स्थापना भएका हामीलाई सम्झन सक्नु हुनेछ," उनले भने।
युशु शान च्याङ युआन अन्तर्राष्ट्रिय कार्गो कम्पनीको स्थापनाले द्विपक्षीय व्यापार तथा दुई देश बिचको सम्बन्धमा एउटा अर्को नयाँ सुन्दर आयाम थप्ने विश्वास लिइएको छ।