नेभिगेसन मेनु

भारतबाट आपूर्ति सहज हुँदै, चीनतर्फ नाका बन्द; १२७ किमिको बाटो छाडेर १,४३९ किमिको चक्कर
सम्पादक:南亚网络电视
समय:2026-10-01 13:58

 

 Banner1

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १५ गतेे । बाढी, पहिरो र लगातारको वर्षाले खलबलिएको नेपालको आपूर्ति शृंखला विस्तारै लयमा फर्किन थालेको छ । काठमाडौं जोड्ने प्रमुख सडकहरू सञ्चालनमा आउन थालेसँगै भारतबाट आउने अत्यावश्यक वस्तुको ढुवानी सहज हुन थालेको छ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको चाप घट्दै गएको छ भने चिनीको पर्याप्त मौज्दात रहेको सरकारी निकायहरूले बताएका छन् ।

तर, आपूर्ति शृंखला सामान्य अवस्थामा फर्किन थालेको यही समयमा व्यापारको अर्को महत्वपूर्ण पाटोमा समस्या देखिएको छ,– चीनसँग जोडिएका प्रमुख व्यापारिक नाकाहरू बन्द हुनु ।

भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पु¥याएपछि चीनसँगको प्रमुख व्यापारिक मार्ग प्रभावित छ । तातोपानी नाका पनि सञ्चालनमा छैन । कोरला नाका जोड्ने कालीगण्डकी करिडोरको सडक अवरुद्ध हुँदा त्यहाँबाट समेत नियमित रूपमा सामान ल्याउन सकिएको छैन ।

यसको प्रत्यक्ष असर चीनबाट आयात हुने वस्तुको लागतमा पर्न थालेको व्यवसायीहरूको भनाइ छ । चीनबाट सीधै नेपाल ल्याउनुपर्ने सामान अहिले भारतका समुद्री बन्दरगाह हुँदै घुमाएर ल्याउनुपर्ने अवस्था बनेपछि ढुवानी दूरी, समय र कन्टेनर खर्च बढेको व्यवसायीहरू बताउँछन् ।

अर्थात्, भारततर्फको आपूर्ति शृंखला क्रमशः सहज बन्दै गए पनि चीनतर्फको आपूर्ति शृंखला अझै अवरुद्ध छ । यही कारण दशैंजस्तो ठूलो उपभोग हुने समयमा बजारमा वस्तुको उपलब्धता मात्रै होइन, त्यसको लागत र अन्तिम मूल्यसमेत प्रभावित हुने जोखिम देखिएको छ ।

सडक खुलेपछि भारततर्फबाट राहत

पछिल्ला दिनमा वर्षा केही रोकिएपछि काठमाडौं जोड्ने प्रमुख सडकहरू खुल्ने क्रम बढेको छ । सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालका अनुसार असोज १३ गते बिहानसम्म काठमाडौं जोड्ने बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा आएका छन् । यी सडकका विभिन्न स्थानमा खसेका पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको हो । केही स्थानमा एकतर्फी भए पनि अधिकांश ठाउँमा दुईतर्फी यातायात सञ्चालन भइरहेको दाहालले बताए ।

पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा वैकल्पिक बाटोबाट सवारी सञ्चालन गर्न सकिने अवस्था रहेको तथा बीपी राजमार्गको अवरुद्ध भागमा पुनर्निर्माण गरेर यातायात सञ्चालन गरिएको विभागको भनाई छ ।

थप ठूलो बाढी, पहिरो वा वर्षा नआए दशैंसम्म काठमाडौं जोड्ने मुख्य सडकहरू थप सहज हुन सक्ने सडक विभागको आँकलन छ । यसले भारतबाट नेपाल आउने सामानको ढुवानीमा भने सकारात्मक प्रभाव पार्न थालेको छ ।

ग्यासमा घट्दै छ चाप

सडक सञ्चालनमा आउन थालेसँगै सबैभन्दा बढी चासोको विषय बनेको खाना पकाउने ग्यासको आपूर्तिमा पनि सुधार देखिन थालेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार महोत्तरी, धनुषा, नेपालगन्जलगायत तराईका क्षेत्रमा ग्यास आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ । उद्योगका भण्डारण ट्यांकीमा ग्यास मौज्दात बस्न थालेको र पहिले जस्तो आएको ग्यास तत्कालै सकिने अवस्था नरहेको उनले बताएका छन् ।

काठमाडौं उपत्यकाको आपूर्ति भने अझै केही दिनको ढुवानी चक्रमा निर्भर छ । चन्दका अनुसार बरौनीबाट काठमाडौंका लागि ग्यास पठाउन प्राथमिकता दिइएको छ । पछिल्ला दिनमा एकै दिन ३०, ३५ र ४० वटासम्म बुलेट काठमाडौंका लागि पठाइएको उनले बताए ।

बाटोमा रोकिएका ग्यासका गाडीसमेत क्रमशः काठमाडौं आइरहेकाले तीन–चार दिनभित्रै उपत्यकामा आपूर्ति सहज भएको महसुस गर्न सकिने उनको भनाइ छ ।

काठमाडौंको नियमित ग्यास माग मासिक करिब ४५ हजारदेखि ५० हजार मेट्रिकटन रहेको संघको भनाइ छ । सडकमा थप अवरोध नआए एक साताभित्र ग्यास आपूर्ति पूर्णरूपमा सामान्य अवस्थामा फर्किन सक्ने व्यवसायीहरूको अपेक्षा छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर पनि ग्यासको समस्या मूलतः सडकसँग जोडिएको बताउँछन् । पेट्रोलियम पदार्थको अन्य आपूर्ति भने अमलेखगञ्जसम्म पाइपलाइनबाट हुने भएकाले सडक अवरोधले त्यति ठूलो असर नपारेको उनको भनाइ छ ।

सरकार भन्छ– ‘चिनीमा अभाव छैन’

बजारमा चिनी नपाइने र पाइए पनि महँगो मूल्य तिर्नुपर्ने गुनासो बढिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले भने आफ्नो मौज्दात पर्याप्त रहेको जनाएको छ ।

साल्ट ट्रेडिङका सूचना अधिकारी मोहन थापाका अनुसार संस्थासँग पर्याप्त चिनी मौज्दात छ । चाडपर्वलक्षित बिक्री केन्द्रबाट उपभोक्तालाई प्रतिकिलो १०५ रुपैयाँमा चिनी उपलब्ध गराइएको छ भने व्यापारीलाई पनि मागअनुसार आपूर्ति भइरहेको छ । प्रशोधित चिनीको मूल्य भने प्रतिकिलो १०९ रुपैयाँ रहेको उनले बताएका छन् ।

साल्ट ट्रेडिङले हालसम्म १२ हजार ५ सय मेट्रिकटन चिनी आयात गरिसकेको र थप चिनी आउने प्रक्रियामा रहेको जनाएको छ । सडक अवरोधका कारण ढुवानीमा केही समस्या आए पनि वैकल्पिक मार्गबाट चिनी ल्याउने प्रयास भइरहेको थापाको भनाइ छ ।

यता, चिनी र ग्यासको तुलनामा छिटो बिग्रिने हरियो तरकारीमा सडक अवरोधको असर बढी देखिएको छ । ढुवानीमा केही घण्टा वा दिनको अवरोधले नै तरकारीको गुणस्तर, उपलब्धता र मूल्यमा प्रभाव पार्ने भएकाले यसको आपूर्ति अझै संवेदनशील अवस्थामा छ ।

भारततर्फ सहज हुँदै गर्दा चीनतर्फ संकट

नेपालको आपूर्ति शृंखलामा अहिले देखिएको मुख्य विरोधाभास यही हो । भारतसँग जोडिएका सडक खुलेसँगै भारतबाट आउने सामानको आपूर्ति क्रमशः सहज हुँदै गएको छ । तर चीनबाट आउने सामानका लागि प्रयोग हुने प्रमुख नाका नै बन्द छन् ।

रसुवागढी नेपालका लागि चीनसँगको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकामध्ये एक हो । भदौ १० गतेको बाढीले सडक र नाका क्षेत्रमा ठूलो क्षति पु¥याएपछि चीनतर्फको नियमित व्यापार प्रभावित भएको छ ।

तातोपानी नाका पनि बन्द अवस्थामा छ । त्यस्तै, कोरला नाका जोड्ने कालीगण्डकी करिडोरको सडक अवरुद्ध हुँदा त्यहाँबाट पनि सामान ल्याउन समस्या भएको व्यवसायीहरू बताउँछन् ।

यसले चीनबाट सामान आयात गर्ने व्यवसायीलाई वैकल्पिक बाटो खोज्न बाध्य बनाएको छ । अहिले केही व्यवसायीले कोलकाता र विशाखापट्टनम बन्दरगाह हुँदै चिनियाँ सामान भारत ल्याएर त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल भित्र्याउने विकल्प प्रयोग गर्न थालेका छन् । तर यो विकल्पले व्यापारलाई सहज मात्रै बनाएको छैन, लागतसमेत बढाएको छ ।

१२७ किलोको बाटो छाडेर १,४३९ किलोमिटर घुम्नुपर्ने अवस्था

नेपाल–चीन व्यापारमा दूरीको अर्थ लागतसँग प्रत्यक्ष जोडिन्छ । व्यवसायीहरूका अनुसार तातोपानी नाकाबाट काठमाडौंसम्मको दूरी करिब ११३ किलोमिटर पर्छ । रसुवागढीबाट काठमाडौं करिब १२७ किलोमिटर र कोरलाबाट करिब ४७० किलोमिटर दूरी पर्छ । तर चीनबाट आउने त्यही सामान भारतको बाटो हुँदै ल्याउँदा दूरी निकै बढ्छ ।

कोलकाता बन्दरगाहबाट विरगञ्ज नाकांसम्मको दूरी करिब ७०६ किलोमिटर पर्छ भने विशाखापट्टनमबाट करिब १ हजार ४ सय ३९ किलोमिटरसम्म पुग्छ । विशाखापट्टनमबाट ठूला जहाज आउने र बन्दरगाहमा जाम तुलनात्मक रूपमा कम हुने भएकाले कतिपय व्यवसायी त्यतातर्फ आकर्षित भएको बताउँछन् । तर समुद्री बन्दरगाहबाट नेपालसम्मको थप दूरीले अन्ततः ढुवानी लागत बढाउँछ ।

यसको असर चीनबाट आउने सामानको खुद्रा मूल्यमा समेत पर्न सक्ने व्यवसायीहरूको भनाइ छ । व्यवसायीका अनुसार चिनियाँ सामान भारतको बाटो हुँदै ल्याउँदा अहिले कम्तीमा १५ प्रतिशत वा त्यसभन्दा बढी लागत बढ्न सक्ने अवस्था छ ।

अर्थात्, नेपाल–चीन सीमामा १०० रुपैयाँको ढुवानी दूरी बचत हुँदा त्यो बाटो बन्द भएर भारत हुँदै घुम्दा उपभोक्ताको बिलमा थप भार पर्न सक्छ ।

चीनबाट के–के आउँछन् ?

चीन नेपालको ठूलो व्यापारिक साझेदार हो । चीनबाट नेपालमा आउने सामानको दायरा पनि निकै फराकिलो छ । रेडिमेड कपडा, जुत्ता, इलेक्ट्रोनिक्स, सञ्चार उपकरण, कम्प्युटर, स्मार्टवाच, हेडफोन तथा अन्य ग्याजेटदेखि विद्युतीय सवारीसम्म चीनबाट नेपालमा आयात हुने गरेका छन् ।

यसैगरी स्याउ, नासपाती, लसुन, प्याज, अदुवा, चकलेट, ड्राइफुड, खेलौना, स्टेसनरीलगायत उपभोक्ताको दैनिक जीवन तथा चाडपर्वसँग जोडिएका वस्तु पनि चीनबाट आउने गरेका छन् ।

दशैंको समयमा विशेषगरी कपडा, जुत्ता, इलेक्ट्रोनिक्स, खेलौना, ग्याजेट तथा अन्य उपभोग्य वस्तुको माग बढ्ने भएकाले चीनतर्फको नाका लामो समय बन्द रहँदा त्यसको असर बजारमा देखिन सक्छ ।

चार खर्बभन्दा बढीको आयात

नेपालको चीनसँगको व्यापारमा आयातको आकार हेर्दा पनि नाका सञ्चालनको महत्व प्रस्ट हुन्छ । उपलब्ध व्यापारिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८३÷८४ को भदौसम्म चीनबाट नेपालले ७६ अर्ब ४० करोड १० लाख ३४ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ । सोही अवधिमा नेपालबाट चीनतर्फ भएको निर्यात भने २९ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबर मात्रै छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा चीनबाट नेपालले कुल ४ खर्ब २५ अर्ब २४ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

यी तथ्यांकले चीनतर्फको नाका अवरुद्ध हुनु कुनै एउटा व्यवसायी वा एउटा वस्तुको समस्या मात्रै नभई समग्र आपूर्ति शृंखलासँग जोडिएको विषय भएको देखाउँछ ।

विशेषगरी चीनबाट आयात हुने औद्योगिक कच्चा पदार्थ, इलेक्ट्रोनिक्स, विद्युतीय सवारीका पार्टपुर्जा, कपडा, जुत्ता, ग्याजेट तथा अन्य वस्तुको ढुवानीमा लामो अवरोध आए त्यसको असर व्यापारिक लागतमा देखिन सक्छ ।

कन्टेनरको लागत पनि थपिएको व्यवसायीको दाबी

चीनको नाका बन्द हुनु मात्रै अहिलेको लागत वृद्धिको कारण होइन । अन्तर्राष्ट्रिय ढुवानी बजारमा देखिएको दबाबले पनि व्यवसायीलाई थप समस्या परेको उनीहरूको भनाइ छ । चीनबाट इलेब्ट्रोनिक्स् सामान ल्याएर नेपालमा विक्री वितरण गर्दै आएका व्यवसायी चन्दन कुमार रुङ्टाको भनाई छ । व्यवसायीहरूका अनुसार इरान–अमेरिका द्वन्द्वका कारण धेरै कन्टेनर मध्यपूर्व क्षेत्रमा अड्किँदा कन्टेनरको उपलब्धतामा समस्या आएको छ ।

पहिले करिब २ हजार अमेरिकी डलरमा उपलब्ध हुने कन्टेनरका लागि अहिले ४ हजार ५०० देखि ५ हजार अमेरिकी डलरसम्म तिर्नुपर्ने अवस्था आएको व्यवसायीहरूको दाबी छ ।

यदि यस्तो अवस्था लामो समय कायम रह्यो भने चीनबाट भारत हुँदै नेपाल ल्याइने सामानमा दोहोरो दबाब पर्छ– पहिलो, लामो दूरीको ढुवानी लागत; दोस्रो, अन्तर्राष्ट्रिय कन्टेनर लागत । त्यसको अन्तिम असर व्यवसायीको लागत हुँदै उपभोक्ताको मूल्यमा पुग्ने सम्भावना हुन्छ ।

रसुवागढी किन महत्वपूर्ण ?

हिमालयन सीमापार व्यवसायी संघका अनुसार नेपालका लागि चीनबाट सामान ल्याउने सबैभन्दा व्यवहारिक विकल्पमध्ये रसुवागढी महत्वपूर्ण भएकाले यसलाई छिटो सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक पहल तीव्र पार्नुपर्ने आवश्यकता छ । व्यवसायीहरूको तर्क छ– भारतको बाटो हुँदै सामान ल्याएर आपूर्ति त धान्न सकिन्छ, तर त्यसले नेपालको व्यापारिक लागत संरचना नै बदलिदिन्छ ।

नेपालले चीनबाट आयात गर्ने ठूलो परिमाणको सामानलाई हजारौं किलोमिटर घुमाएर ल्याउने अवस्था दीर्घकालीन समाधान होइन । त्यसैले सडक पुनर्निर्माणसँगै नेपाल–चीनबीच कूटनीतिक तहमा समेत तत्काल समन्वय आवश्यक रहेको व्यवसायीहरूको माग छ ।

दशैंअघि दुई फरक तस्वीर

अहिले नेपालको आपूर्ति बजारमा दुईवटा फरक तस्वीर एकैपटक देखिन्छन् । एकातिर, भारतबाट आउने ग्यास, खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको आपूर्ति सडक खुलेसँगै सुधार हुँदैछ । काठमाडौं जोड्ने राजमार्गहरू सञ्चालनमा आउन थालेका छन् । ग्यासका बुलेट काठमाडौं आउन थालेका छन् । तराईमा ग्यासको आपूर्ति सामान्य हुँदै गएको छ । साल्ट ट्रेडिङले चिनी पर्याप्त रहेको बताइरहेको छ ।

अर्कोतर्फ, चीनबाट आउने सामानका लागि महत्वपूर्ण नाकाहरू बन्द छन् । त्यसैले चिनियाँ सामानका लागि व्यवसायीले भारतीय बन्दरगाहको बाटो प्रयोग गर्न थालेका छन् । यसले दूरी र लागत दुवै बढाएको छ । दशैं नजिकिँदै गर्दा यो अन्तर अझ महत्वपूर्ण हुन्छ । किनकि दशैं केवल धार्मिक वा सांस्कृतिक पर्व होइन, नेपालको सबैभन्दा ठूलो उपभोगको मौसम पनि हो । नयाँ कपडा, जुत्ता, इलेक्ट्रोनिक्स, मोबाइल तथा ग्याजेट, खेलौना, खाद्यान्न, फलफूललगायतका वस्तुको माग बढ्ने समयमा आपूर्ति लागत बढ्यो भने त्यसको प्रभाव बजार मूल्यमा देखिन सक्छ ।

त्यसैले अहिलेको प्रश्न केवल ‘सडक खुल्यो कि खुलेन ?’ भन्नेमा सीमित छैन । मुख्य प्रश्न हो– सडक खुलेपछि आपूर्ति कुन बाटोबाट भइरहेको छ र त्यसको लागत कति बढिरहेको छ ? सरकारले सडक खुलेको र सामान आउन थालेको आधारमा आपूर्ति सहज हुँदै गएको बताउन सक्छ । तर अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण सूचक लागत हो । सामान बजारमा उपलब्ध हुनु एउटा कुरा हो । त्यही सामान पुरानै लागतमा उपलब्ध हुनु अर्को कुरा हो ।

चीनबाट नेपाल आउने सामान अहिले भारतको लामो बाटो हुँदै ल्याउनुपरेको अवस्थामा बजारमा सामानको अभाव नदेखिए पनि त्यसको मूल्य बढ्न सक्छ । अर्थात्, आपूर्ति शृंखला टुटेको देखिँदैन, तर त्यसको लागत संरचना भने बदलिएको हुन सक्छ । यही कारण दशैंको बजारमा सरकारले केवल वस्तुको उपलब्धता मात्र होइन, ढुवानी लागत, आयात लागत, थोक मूल्य र खुद्रा मूल्यबीचको सम्बन्धलाई पनि निगरानी गर्नुपर्ने देखिन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर