
काठमाडौं, भदौ ११: नेपालका लागि चिनियाँ राजदूत महामहिम चाङ माओमिङले रसुवाको भोटेकोशी क्षेत्रमा आएको ठूलो बाढी तथा पहिरोप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै प्रभावित नेपाललाई आवश्यक सहयोग र समर्थन जारी राख्ने बताएका छन्।
एनटीभी वर्ल्डसँगको कुराकानीमा राजदूत चाङले प्रारम्भिक जानकारीअनुसार बुधबार बिहान नेपाली क्षेत्रमा गएको भूकम्पका कारण हिमपहिरो र त्यसपछि आएको पहिरोले रसुवागढी–चीनको जिरोङ सीमा क्षेत्रमा ठूलो क्षति पुर्याएको बताएका छन्। घटनामा नेपाल र चीन दुवैतर्फ मानवीय क्षति हुनुका साथै केही व्यक्ति बेपत्ता भएको उनले उल्लेख गरे।
राजदूत चाङले विपद्मा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवार, नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरे। उनले कठिन परिस्थितिमा चीन नेपालसँगै उभिएको र घटनाक्रमलाई नजिकबाट निगरानी गर्दै सम्भव सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनालाई उच्च महत्व दिँदै बेपत्ता व्यक्तिको खोज तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण, घाइतेको उपचार र मानवीय क्षति न्यूनीकरणलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। साथै, विपद्पछिका सम्भावित जोखिम रोक्न प्रभावकारी निगरानी तथा पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन जोड दिइएको छ।
बाढीपछि नेपालस्थित चिनियाँ दूतावासले तत्काल आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गर्दै प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी संकलन गरेको राजदूत चाङले बताए। दूतावासले नेपाली सरकार तथा सम्बन्धित निकायलाई उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गर्नुका साथै घटनास्थलमा समन्वयका लागि कार्यदल पठाएको उनले जानकारी दिए।
चीनतर्फ पनि ठूलो क्षति भएको अवस्थामा नेपाललाई आपत्कालीन सामग्री तथा नगद सहयोग उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाइएको उनले बताए। चीनका उपप्रधानमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य चाङ गुओछिङ सम्बन्धित मन्त्रालयका अधिकारीसहित सिचाङ पुगेर उद्धार तथा विपद् व्यवस्थापन कार्यको मार्गदर्शन गरिरहेको पनि राजदूत चाङले जानकारी दिए।
चीनको विदेश मन्त्रालय, जलस्रोत मन्त्रालय, मौसम प्रशासन, आपत्कालीन व्यवस्थापन मन्त्रालय तथा सिचाङ स्वायत्त क्षेत्रका सम्बन्धित निकायले नेपाली समकक्षीहरूसँग समन्वय संयन्त्र स्थापना गरी विपद् मूल्याङ्कन, खोज तथा उद्धार र आगामी प्रतिक्रियाका विषयमा सहकार्य गरिरहेको उनले बताए।
राजदूत चाङले विपद् व्यवस्थापनमा नेपाली सरकार तथा सम्बन्धित निकायले गरेको प्रभावकारी प्रयासको प्रशंसा गर्दै विपद्को सामना गरिरहेका नेपाली जनताको दृढता र प्रयासको पनि सराहना गरे।
भविष्यमा यस्ता प्राकृतिक विपद्को प्रभाव न्यूनीकरण गर्न नेपाल र चीनबीच सहकार्य अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिए। उनका अनुसार मौसम, जलविज्ञान तथा भौगोलिक विपद्सम्बन्धी सूचना आदानप्रदान, निगरानी तथा पूर्वसूचना प्रणालीलाई सुदृढ गर्नु पहिलो प्राथमिकता हुनुपर्छ।
त्यसैगरी, आकस्मिक विपद्का बेला संयुक्त उद्धार तथा प्रतिक्रिया संयन्त्रलाई थप प्रभावकारी बनाउन दुवै देशका सम्बन्धित निकायबीच नियमित समन्वय र संस्थागत सहकार्य आवश्यक रहेको उनले बताए। स्थानीय तहसम्म उद्धारसम्बन्धी जनशक्ति प्रशिक्षण, प्राविधिक आदानप्रदान र आपत्कालीन सामग्रीको व्यवस्थापन क्षमता बढाउनुपर्नेमा पनि उनले जोड दिए।
नेपाल र चीन हिमाल तथा नदीमार्फत जोडिएका निकट छिमेकी भएको उल्लेख गर्दै राजदूत चाङले प्राकृतिक विपद् सामना गर्ने क्षमता अभिवृद्धि गर्न चीन नेपाललाई आफ्नो क्षमताअनुसार आवश्यक सहयोग र समर्थन उपलब्ध गराउन तयार रहेको बताएका छन्।


















