
काठमाडौँ, असार २८ गते । सरकारले चालु आर्थिक वर्षमा अहिलेसम्म पाँच लाख टनभन्दा बढी रासायनिक मल वितरण गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार २४ सम्म पाँच लाख १८ हजार टन मल बिक्री भएको हो । बिक्री भएको मलमध्ये सबैभन्दा धेरै युरिया तीन लाख सात हजार टन, डिएपी एक लाख ९३ हजार टन र पोटास १८ हजार टन रहेको छ ।
मन्त्रालयले चालु आवमा छ लाख मेट्रिक टन मल आपूर्तिको वार्षिक लक्ष्य राखेकोमा चार लाख ९१ हजार मेट्रिक टन मल खरिद गर्नका लागि टेन्डर आह्वान गरेको थियो । गत आवको बाँकीसहित पाँच लाख ६१ हजार मेट्रिक टन मल आयात भएको मन्त्रालयले जनाएको छ ।
मौज्दातमध्ये युरिया ४९ हजार टन, डिएपी २४ हजार टन र पोटास १९ हजार टन रहेको छ । त्यसै गरी २८८ टन रासायनिक मल ढुवानीका क्रममा रहेको मन्त्रालयले जनाएको छ । भारतबाट सरकार–सरकार (जिटुजी) मार्फत ल्याउन लागिएको ५० हजार मेट्रिक टन मल साउनको पहिलो साता आइपुग्ने पनि मन्त्रालयले जनाएको छ । माग अनुसार मल आयात नहुँदा किसानले धान रोप्ने बेला अभाव खेपिरहेका छन् ।
बजारमा वार्षिक आठ लाख मेट्रिक टन मल माग रहेको छ । मन्त्रालयका अनुसार धानबालीका लागि साढे दुई लाख मेट्रिक टनदेखि तीन लाख मेट्रिक टन मल आवश्यक पर्छ । यो वर्ष पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण समयमा मल आयात गर्न नसकिएको मन्त्रालयले जनाएको छ । चालु आवमा मल खरिदका लागि २८ अर्ब ८२ करोड रुपियाँ विनियोजन गरिएको थियो ।

















