
काठमाडौँ, असार ८ गते । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित मोडा योग फेस्टिभल २०२६ शनिबार ललितपुरमा सम्पन्न भएको छ। मोडा योग स्टुडियोद्वारा बखुण्डोलस्थित कुण्डलिनी आयुर्वेद परिसरमा आयोजित फेस्टिभलमा एक हजारभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

योग, ध्यान, संगीत, कला, कार्यशाला, सचेत जीवनशैली तथा सामुदायिक गतिविधिलाई समेटेर आयोजना गरिएको फेस्टिभलको सुरुवात बिहान ७ बजे निःशुल्क सामूहिक हठयोग सत्रबाट गरिएको थियो। उक्त सत्र मोडा योग टिमले सञ्चालन गरेको थियो। त्यसपछि पिज्जा महर्जन र उनको टोलीले इनभर्सन तथा ह्यान्डस्ट्यान्ड सम्बन्धी निःशुल्क कार्यशाला सञ्चालन गरेका थिए।
फेस्टिभलको विशेष आकर्षणका रूपमा रोनाली अमात्य र उनको टोलीद्वारा सञ्चालित इन्फ्लुएन्सर योग, साउन्ड हिलिङ तथा वेलनेस ब्रन्च कार्यक्रम रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक रोनाली अमात्यले समुदायमा वेलनेस संस्कृति विस्तार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको बताइन्। उनले आगामी वर्षलाई ‘वेलनेस वर्ष’का रूपमा मनाउने सम्भावनाबारे पनि विचार भइरहेको जानकारी दिइन्।

दिउँसो सञ्चालन गरिएको ‘कन्सस मार्केटप्लेस’मा विभिन्न स्थानीय ब्रान्ड, कलाकार तथा उद्यमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा हस्तकला, अर्गानिक उत्पादन, खाद्य परिकार, फेसन, प्रविधि तथा जीवनशैलीसँग सम्बन्धित स्टलहरू राखिएका थिए।

त्यसैगरी, रोशन महर्जन र उनको टोलीको लाइभ इन्स्ट्रुमेन्टल प्रस्तुतिले कार्यक्रममा सहभागीहरूलाई शान्त र ध्यानमय वातावरणको अनुभूति गराएको थियो।
फेस्टिभलको समापन साँझ आयोजित ‘सनसेट कीर्तन कन्सर्ट’मार्फत गरिएको थियो। सजल न्यौपाने र उनको टोलीले सञ्चालन गरेको उक्त कार्यक्रममा भक्तिमय संगीत तथा सामूहिक सहभागिताले विशेष आकर्षण थपेको थियो।
आयोजकका अनुसार योग, स्वास्थ्य, एकता तथा सचेत जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ फेस्टिभल आयोजना गरिएको हो।


















