
काठमाडौँ, असार ८ गते । सुनसरीको वराहक्षेत्र–१ मा रहेको गुप्तवराह मन्दिर क्षेत्रमा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ सालको बजेटमा मोनोरेलका लागि बजेट छुट्याइएपछि प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरिएको बताइएको छ । गुप्तवराह निर्माण समितिका संयोजक रवि श्रेष्ठका अनुसार प्रारम्भिक अध्ययन थालिएको बताउनुभयो । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यस क्षेत्रमा कोरियाबाट आएका मोनोरेल विज्ञको टोलीले मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको जनाइएको छ ।
साबिक वराहक्षेत्र मन्दिर जाने सडकबाट करिब चार सय मिटर तल रहेको गुप्तवराह मन्दिरसम्म पुग्ने भौगोलिक अवस्थालाई ध्यानमा राख्दै मोनोरेल निर्माणको अवधारणा अघि सारिएको बताइएको छ । प्रारम्भिक अध्ययन अनुसार प्राविधिक पक्ष, पूर्वाधार आवश्यकताहरू, लागत अनुमान तथा सञ्चालन मोडेलबारे विस्तृत छलफल भइरहेको श्रेष्ठले बताउनुभयो ।
सम्भाव्यता अध्ययनलाई अघि बढाउन थप सरोकारवाला निकायसँग छलफल गरिने बताइएको छ । सम्भाव्यता अध्ययनको प्राविधिक प्रतिवेदन तयारीका लागि विशेषज्ञ टोली स्थलगत अध्ययन गर्दै आएको गुप्तवराह निर्माण संयोजक रवि श्रेष्ठ बताउनुहुन्छ । प्राविधिक विज्ञसहितको टोलीले स्थलगत अध्ययन गर्दै मोनोरेलसँगै स्काइवाक, सिसाको पुल तथा बञ्जी जम्प जस्ता पूर्वाधार निर्माण गर्न सकिने सम्भावनासमेत औँल्याएको बताइएको छ ।
कोशी प्रदेश सरकारले बजेटमा योजना समावेश गरेपछि वराहक्षेत्र नगरपालिकामा नेपालकै पहिलो र एक मात्र मोनोरेल परियोजना हुने नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । यसले स्थानीय अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उहाँको भनाइ छ । मोनोरेल सञ्चालनमा आए यो नेपालकै पहिलो र एक मात्र मोनोरेल परियोजना हुने छ, जसले वराहक्षेत्रलाई नयाँ पहिचान दिने बताइएको छ ।
नगरप्रमुख कार्कीले गुप्तवराहधामलाई धार्मिक मात्र नभई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण स्थलका रूपमा रहेको वर्णन गर्दै नेपालसहित भारत, भुटानलगायतका देशबाट समेत श्रद्धालु भक्तजन आउने गरेको बताउनुभयो । मोनोरेल सञ्चालनपछि तीर्थयात्रा सहज हुने र पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ । मोनोरेल सम्भाव्यता अध्ययन सुरु भएसँगै परियोजनाले धार्मिक पर्यटनसँगै रोजगारी, व्यापार तथा स्थानीय विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


















